भेपमा सुन प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २६ वर्षीय रितु राई र बर्दिया घर भएका २१ वर्षीय निरेश चौधरी छन् ।
भन्सार कार्यालयको गोदाममा राखिएको भेप चोरिमा संलग्न आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का अहिले थुनामा छन् । केन्द्रीय कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका खड्कालाई छुटाउँछौँ भनेर आरोपीहरुले उनका बुवा अमर बहादुर खड्कासँग ९९ लाख ७५ हजार रकम लिएका हुन् ।
आरोपीहरुविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुले अमर बहादुर खड्कासँग पटक–पटक गरेर सो रकम लिएका हुन् ।
रेवन्त खड्का सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ का स्थानीय हुन् । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । भन्सारको गोदाममा राखिएको भेपसहितको लगेज चोरीमा नायव सुब्बा रेवन्त खड्का संलग्न रहेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीले खड्कासहित सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मर्गले, अमृत कार्कीलाई र कास्की घर भएका निर्मल विकलाई पक्रेर अनुसन्धान गरेको थियो । उनीहरुविरुद्ध सुन चोरी तथा आपराधिक विश्वासघात विरुद्धको कसुर मुद्दा अदालतमा विचाराधीन छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोडस्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका छन् ।
विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का र सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेतले भन्सारको गोदामबाट चोरेर सो सुन नन्दुकुमारलाई बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । स्टोरको साँचो रेवन्त खड्कासँग थियो । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् ।