समाचार

१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो

काठमाडौं । जनकपुरकी सजिना खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड अगाडि बसिरहेकी थिइन् तीन वर्षीय छोरा च्यापेर । डा. सुचारिता तुलाधर वार्डको राउन्ड लगाउन आउनै गर्दा उनी उत्सुकतापूर्ण हेरेर मुस्कुराउँछिन् ।अस्पतालमा उनका तीन वर्षीय छोरा आसिफ आलमको आठ महिनादेखि क्यान्सरको उपचार भइरहेको छ । छोरा छिट्टै ठीक हुने आशा साँचेर बसेकी छिन् सजिना ।

दुई वर्षअघि आसिफ आँगनमा खेल्दा खेल्दै एक्कासि सानो खाल्डोमा खसे । उनलाई चोटपटक त लागेन तर एक्कासि ज्वरो आयो । ज्वरो १०२ डिग्रीभन्दा माथि आएपछि उनी आत्तिएर नजिकैको स्वास्थ्य संस्था पुगिन् ।डाक्टरले ज्वरोको औषधि दिएर पठाए । तर औषधि खाएपछि पनि छोराको ज्वरो घटेन । उल्टै पेट फुल्न थाल्यो । त्यसपछि फेरि उनी स्वास्थ्य संस्था पुगिन् तर उनको छोराको समस्या पत्ता लागेन । त्यसैले त्यहाँका चिकित्सकले छोरालाई लिएर काठमाडौं जाने सल्लाह दिए ।

चिकित्सकको सल्लाहअनुसार सजिनाले छोरालाई लिएर काठमाडौं आइन् । महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा छोरालाई भर्ना गरिन् । त्यहाँ आसिफको सम्पूर्ण स्वास्थ्य जाँच गरियो । थेलेसिमिया हो कि भनेर त्यसको जाँच गरियो र बोनम्यारो जाँच पनि गरियो । यी सम्पूर्ण जाँचमा उनको लगभग तीन लाख रुपैयाँ खर्च भयो । २२ दिन अस्पतालमा बित्यो तैपनि रोग पत्ता लागेन ।

छोराको अवस्था झन् बिग्रिंदै गयो, पेट फुल्ने समस्या बढ्दै गयो, रगतको कमी पनि भयो, तर रोग पत्ता लाग्न सकेन । यता रोग पत्ता लाग्दैन उता छोराको अवस्था दिनप्रतिदिन बिग्रिंदै गएको देखेर सजिना आत्तिइन् । उनले डाक्टरलाई छोरालाई अन्त कतै रिफर गर्न अनुरोध गरिन् ।डाक्टरले उनलाई दिल्लीको सर गंगाराम अस्पताल रिफर गरे । अब उनी छोराको रोग पत्ता लगाउन र उपचार गर्न श्रीमानका साथ दिल्ली पुगिन् । नयाँ ठाउँ नयाँ परिवेश त्यहाँ गएर कहाँ बस्ने के खाने केही कुराको टुंगो छैन । त्यहाँ पुगेर उनले डाक्टरलाई भेटिन् जनकपुर र काठमाडौंका अस्पतालको सबै रिपोर्ट देखाइन् ।

डाक्टरले पुरानो रिपोर्ट हेर्न मानेनन् र भने- ‘पहिलेको रिपोर्ट नदेखाउनुस् यहाँ फेरि सबै जाँच गर्नुस् म आफ्नै तरिकाले तपाईंको छोराको उपचार गर्छु । आसिफको स्वास्थ्य फेरि जाँच भयो । सम्पूर्ण जाँच गर्न लगभग सात लाख रुपैयाँ खर्च भयो । तैपनि छोराको रोग पत्ता लागेन । डाक्टरले भने- ‘केही समस्या देखा परेन । फेरि अर्को जाँच गर्नुपर्छ जसको रिपोर्ट आउन एक महिना समय लाग्न सक्छ ।’ डाक्टरको कुराले सजिनालाई थप दु:खी बनायो ।

उनको साथमा भएको सबै पैसा सकियो । अब भने उनलाई त्यहाँ थप बस्न मन लागेन, र थप अन्य जाँच पनि गर्न मन लागेन । त्यसैले उनी जनकपुर फर्किइन् ।

जनकपुर फर्किएपछि छोराको समस्या झन् बढ्दै गायो । साथै आँखा नजिक मासु पनि पलायो । अब उनी छोरालाई लिएर लहान नेत्र अस्पताल पुगिन् । आँखा नजिक पलाएको मासुलाई शल्यक्रिया गर्नुपर्ने र त्यहाँ शल्यक्रिया सम्भव नभएकाले त्यहाँबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल रिफर गरियो ।

काठमाडौं आउने खर्च उनीसँग भएन । आफ्नो जमिनलाई धितो राखेर केही रकम जुटाएर उनी काठमाडौं आइन् । त्यसपछि पुगिन् तिलगंगा आँखा अस्पताल । त्यहाँ चिकित्सकले आसिफको आँखा नजिक पलाएको मासुको जाँच गरे । रिपोर्ट हेरेर त्यहाँ शल्यक्रिया नहुने भन्दै उनलाई पाटन अस्पताल जाने सल्लाह दिए ।

अब छोरालाई लिएर सजिना पुगिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान । अस्पतालमा उनको भेट बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुचारिता तुलाधरसँग भयो । डा. तुलाधरले सम्पूर्ण रिपोर्ट हेरेर भनिन्, ‘तपाईंको छोरालाई क्यान्सरको जस्तो लक्षण छ बायोप्सी गरेर हेरौं । तब उनको छोराको बायोप्सी गरियो । उनको छोरालाई ‘एलसीएच क्यान्सर’ सेतो रक्त कोषिका अनियन्त्रित रूपमा बढेको कारण क्यान्सर भएको रहेछ ।’

डाक्टरको कुरा सुनेर सजिना आत्तिइन् र रुन थालिन् । छोरालाई क्यान्सर भएको सुन्नेबित्तिकै उनलाई गाह्रो भयो । डा. तुलाधरले उनलाई यो रोगको उपचार हुने भन्दै सम्झाइन्, ‘उपचारको लागि लगभग साढे दुई वर्ष लाग्छ । त्यो समयसम्म तपाई यतै बस्नुपर्छ । तपाईंको बस्ने खाने व्यवस्था यतै एउटा संस्थाको सहयोगमा हुन्छ । त्यसैले नआत्तिकन छोराको उपचार गर्नुस् ।’

डाक्टरको कुराले सजिनाको हिम्मत बढ्यो । विपन्न परिवारमा क्यान्सर भएका बालबालिकाको परिवारलाई बस्ने खाने सबै व्यवस्था मिलाउन एउटा संस्थाले सहयोग गर्ने रहेछ । उनी त्यही संस्थाको सहयोगमा छोराको उपचार गर्न काठमाडौंमा नै बस्ने भइन् ।

उपचार सुरु भयो उनको छोराको अवस्था बिस्तारै सुधार हुँदै गयो । आठ महिनादेखि उनको छोराको उपचार चलिरहेको छ । उनी एक्लै नै छोराको उपचारमा लागि परेकी छिन् । उनको श्रीमान् एक महिना अघि मात्र विदेश उडेका छन् । छोराको उपचारमा धेरै खर्च भएको हुँदा ऋण लागेको छ । त्यो ऋण तिर्न उनको श्रीमान् विदेश गए ।

‘श्रीमान् पनि साथमा छैनन्, दु:ख पर्दा रुने काँध छैन, सम्हाल्ने व्यक्ति पनि छैन,’ सजिना दु:ख पोख्छिन् ।

तीनवटा किमोथेरापी सकियो अब तीनवटा साइकल किमोथेरापी बाँकी छ । छोराको अवस्था सुधार भएसँगै उनी खुसी छिन् । उनलाई पाटन अस्पताल मन्दिर जस्तै लाग्न थालेको छ र चिकित्सक आफन्त जस्तै ।उनी पाटन अस्पतालको उपचार र चिकित्सकको व्यवहारबाट सन्तुष्ट छिन् । रोग पत्ता लगाउनै धेरै ठाउँ भौतारिनु परे पनि छोराको उपचार भने सही ठाउँमा सही चिकित्सकबाट भइरहेकोमा उनी खुसी छिन् ।

छोराको अवस्थामा सुधार हुँदै गएको छ । उपचार कति लामो जान्छ अहिल्यै टुंगो लागिसकेको छैन । तर सजिनलाई हिम्मत भने दिएको छ, निको पारेर छोरालाई घर लैजान्छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button