मनोरन्जनसमाचार

‘मेरो सन्तानलाई पृथ्वीको सेवा गर्ने सक्षम मानव बनाउन चाहन्छु’

काठमाडौं । रेखा थापाका चिनारी अनेक छन् । उनी एकसाथ अभिनेत्री, फिल्म निर्मात्री, निर्देशक र राजनीतिज्ञ पनि हुन् । फागुन २५ मा उनले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ प्रदर्शन तयारीमा छ । त्यसअघि रेखाले सन्तानलाई यो धर्तीमा स्वागत गर्दैछिन् । उनको निजी जीवनका लागि यो अभूतपूर्व क्षण हो ।

यतिबेला अमेरिकाको कोलोराडोमा रहेकी रेखाले त्यहींबाट फिल्मको भर्चुअल प्रचारप्रसार गर्दैछिन् । वैशाखतिर नेपाल फर्किने उनको तयारी छ । फिल्म र सन्तानको स्वागतको तयारीमा रहेकी रेखाले अनलाइनखबरसँग भर्चुअल कुराकानी गरेकी छन् । प्रस्तुत छ, अभिनेत्री रेखा थापासँग अनलाइनखबरका विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले जीवनमा पाउनुभएको सबैभन्दा अमूल्य उपहार के छ ?

म यस पृथ्वीमा जन्मिएँ । मातापिताको सकुशल राम्रो सन्तानको रुपमा म स्थापित भएँ । कर्म गर्ने क्रममा नेपाली दर्शकले जुन प्रकारको मायाप्रेम, सद्भाव, चिन्ता अहिलेसम्म गर्नुभएको छ, त्यो नै सबैभन्दा ठूलो उपहार हो ।

तपाईं आफ्नो बच्चालाई सबैभन्दा पहिलो उपहार के दिन चाहनुहुन्छ ?

यो पृथ्वी, यो ब्रह्माण्ड । यो पृथ्वीलाई हेर्ने हाम्रो नजरिया जुन संकुचित छ । हामी भूगोल विशेषलाई प्राथमिकता दिन्छौं तर हामी मानिस जन्मिएको यो पृथ्वी सबैको एउटा घर हो । यो पृथ्वी र ब्रह्माण्ड नै उसलाई उपहार दिन चाहन्छु । म जहाँसुकै गएर पृथ्वीको सेवा गर्ने सक्षम मानिस बनाउन चाहन्छु ।

तपाईं फिल्म ‘उपहार’मार्फत दर्शकलाई के उपहार दिन चाहनुहुन्छ ?

जीवन भनेको आशा, निराशा, भरोसा, प्रेमविछोड, खुसी, सफलता, असफलताको मिश्रित चीज नै जीवन हो । यो यात्रामा जति पनि प्रकारका भावना, असफलता आउँछन्, मान्छे धनी हुन्छ फेरि गरिब हुन्छ, प्रेम हुन्छ फेरि बिछोड हुन्छ । प्रेमी, श्रीमान र यावत कुमार गुमाउनुपरेको यात्रा हो जीवन । भौतिक वस्तु पाउँदा हामी जसरी खुसी हुन्छौं, त्यसैगरी बिछोडमा, निराशामा पनि, असफलतामा पनि जुन मान्छे यो पनि उपहार हो भनेर रमाउन सक्छ, त्यसले जीवनको बाजी जित्छ । मैले चलचित्र ‘उपहार’मार्फत जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ भनेर उपहारस्वरुप यो कुरा दर्शाउन खोजेका छौं ।

कसैले कसैलाई दिने सबैभन्दा सुन्दर उपहार के हुनसक्छ ?

आशा, भरोसा र आत्मविश्वास । यो ग्याजेटको जमानामा कोहीले घर, कोहीले गाडी उपहार देला । ती विलासिताका कुरा भोलि नरहन सक्छ । जीवनमा सबैभन्दा उत्कृष्ट उपहार भनेको आपत् पर्दा तिमी त्यहाँ उभिन्छौ भने त्यो भन्दा सुन्दर उपहार अर्को केही पनि हुँदैन । त्यो नै आफ्नो मान्छे हो । गीतामा पनि भनिएको छ नि, आफ्नै आमाबुवा पनि तिम्रो दुःखको बेलामा हुँदैनन् र अर्को कोही साथी छ भने त्यो नै तिम्रो आफ्नो मान्छे तथा अमूल्य उपहार हो ।

के अमेरिका तपाईंले आफ्नो बच्चालाई दिएको उपहार हो ?

होइन । मेरो आमाबुवाले मलाई अमेरिका उपहार दिएको होइन तर, म यहाँ आउन सक्षम भएँ । म सक्षम महिला भएका कारण संसारको कुनै पनि कुनामा जान सक्छु । हाम्रा भावी सन्तान पनि यो ग्लोबल भिलेजको समयमा जहाँ पनि जान सक्छन् । यो अमेरिका, यो क्यानडा भनेर छुट्याउने समय बिस्तारै सकिन्छ होला सायद । मान्छेहरु आफ्नो इच्छा हुन्छ होला । हनिमुन मनाउन कहाँ गयौं र बच्चा पाउन कहाँ गयौं भन्ने कुरा मिथ्या हो ।

धर्तीमा सन्तान ल्याउँदै गरेको संवेदनशील घडीमा आमाको आफ्नो अधिकार हुन्छ । यो अधिकारमा उसको श्रीमानले पनि केही बोल्न पाउँदैन । कुन ठाउँमा गएर स्वास्थ्यको हिसाबले आफूलाई सुरक्षित महसुस गर्छु, त्यहीं जाने हो । अमेरिका उपहार दिनै पर्दैन । सन्तानमा आफ्नो व्यक्तिगत सामर्थ्य र क्षमताको विकास पो गर्ने हो त । (हाँस्दै) यो रोटी सेक्ने कुरा भयो । यो सुन्दा पनि मनस्थिति पनि अजीव देखिन्छ ।

आफूलाई आरोप लगाउनेप्रति तपाईं कुन शब्द उपहार दिन चाहनुहुन्छ ?

यो चेतनाको कमी हो । आफ्नो सिर्जना, क्षमता केही छैन, आफू गरिखान नसक्ने, आफ्नो नामको पछाडि लागेर रोटी सेक्नेहरुलाई मैले के भन्नु छ र ? सधैंभरि अर्काको नामको रोटी सेकेर, आफ्नो घरमा भ्वाङ परेको पनि त हेर्नुपर्‍यो । मलाई भन्दा आफ्नो काममा ध्यान राखे, त्यो राम्रो हुन्छ नि । विश्वव्यापीकरणको यो युगमा त्यो चेतनाको कमी हो । जुन प्रकारको टिप्पणी गरे, उनीहरुको घरमा पनि आमा, छोरी, बहिनी होलान् । आमा बन्दै गरेको महिलामाथि संवेदनशील घडीमा जुन प्रकारको टिप्पणी गरे । म के कुरामा खुसी छु भने यो महिलाभन्दा पनि सक्षम नारी हो, यसलाई जे भनेपनि हुन्छ भन्ने हिसाबले बोल्नुभएको छ । यसमा कुनै गुनासो छैन । रेखा थापाको सवाल मात्र होइन, अन्य महिला पनि होलान् जो मातृत्वबोध गर्दै होलान् । यस्ता मान्छेले घरभित्रै आफ्ना छोरी, बुहारी र श्रीमतीलाई कति दमन गर्छन् भन्ने त यहींबाटै थाहा हुन्छ ।

तपाईं आमा बन्दै हुनुहुन्छ, तपाईंलाई आमाको सबैभन्दा ठूलो गुण के हो भन्ने लाग्छ ?

(हाँस्दै…।) म अहिले नर्भस नै छु । अलिकति दृष्टिकोणमा परिवर्तन हुने रहेछ । उत्तरदायित्व बोध गर्ने कुराहरु । सबैभन्दा ठूलो गुन त नौ महिना कोखमा राखेर, अर्को आत्मालाई धर्तीमा ल्याउँछौं नि, त्यो चीजसँगको कनेक्सन कल्पना गरिराख्या छु । बच्चा जन्मिएपछि थाहा होला । अहिलेसम्म यसको उत्तर दिन सक्दिनँ ।

तपाईं बच्चालाई गर्भमा हुर्काइरहँदा उसले सिनेमाको पर्दामा अभिनय गरिरहेको महसुस गर्नुभयो कि भएन ? तपाईंले आफ्नो बच्चालाई फिल्मको पर्दा उपहार दिने सोच्नुभयो कि भएन ?

म ‘उपहार’को सुटिङ गर्दा चार महिनाको गर्भवती थिएँ । सात महिनासम्म त उपहार सुटिङ नै गरिरहेको थिएँ । चियावाला पार्ट गरिराख्या थिएँ । मैले आफ्नो गर्भमा हुर्कंदै गरेको सन्तानलाई के बन्छ भनेर फिल्मको कल्पना, भोलि राष्ट्र हाँक्ने कुरा, राष्ट्रपति बन्ने कुरा । उनीहरु १८ वर्ष पुग्दा जमाना त परिवर्तन हुन सक्छ नि त । विश्व हाँक्ने बहादुर मान्छेको कल्पना गर्‍या छु कि । मैले भनेर हुँदैन । यो उनीहरुमा निर्भर हुन्छ । मलाई घरमा एक्टर बन्न जन्माएको होइन नि । मेरो रोजाइले म बनें । मेरो सन्तानको रोजाइ हुनसक्छ । विश्व हाँक्ने सशक्त मानव बनोस् भन्ने होला नि त मेरो परिकल्पना ।

राजनीतिज्ञको रुपमा तपाईंले नेपाली नागरिकलाई दिन खोजेको विशेष उपहार के छ ?

समाजमा एकखालको निराशापन छ । म आफैंले भोगेर आएँ चुनावको बेला पनि । मैदानमा पनि निराशा छ र सदनमा पनि निराशा छ । हामी चटक हेरिरहेका छौं । मान्छेहरु आउँछन्, एउटा वाचा गर्छन् र हराउँछन् । यस्ता प्रकारका चटकहरु देखिरहेका छौं हामीले । हरेक साता रमाउनले आलोचना र नकारात्मकता हामीलाई चाहिरहेको देख्छु म । हामीले फिल्म बनाउँदा त्यही किसिमको निराशापन, देश बिग्रियो वा खराब भयो, देशका जनताको भविष्य सुनिश्चित छैन भन्ने प्रकारको कुरा हुन्छ ।

राजनीतिज्ञको रुपमा म यो कुरा मलाई मान्य हुँदैन । म चलचित्रकर्मी पनि भएकाले चलचित्र हेरेर निस्किएपछि ऊर्जा महसुस गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हामीले ‘उपहार’मा दुई घण्टा १५ मिनेट बसेर हेरुञ्जेल हामीले जीवनलाई रुपान्तरण गर्ने तरिका यो पनि हुनसक्छ भनेर देखाउन खोजेका छौं । हामीले यसरी सोचेकै थिएनौं भनेर एउटा जोडी विदेश जानबाट रोक्किएर ऊ स्वदेशमै आफूलाई सक्षम बनाउने राम्रो पाठ सिक्नसक्छ ।

तपाईं अमेरिकामा हुनुहुन्छ । त्यहाँ ओस्कार अवार्ड, सनडान्स जस्ता ठूला फेस्टिभल हुन्छन् । तपाईंलाई कहिल्यै अन्तर्राष्ट्रिय फेस्टिभलमा भाग लिने फिल्म बनाएर आफैंले आफैंलाई उपहार दिने सोच्नुभएको छ कि छैन ?

कहीं न कहीं कलाकारको रुपमा लाग्छ नै । ओस्कारको मञ्चमा पुगेर ट्रफी उचाल्दा कस्तो हुन्छ होला जस्तो लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा, घर पूरै भत्केको छ, झ्यालढोका केही पनि छैन, पिलर मात्रै छ । हाम्रा अग्रजहरुले पिलर बलियो बनाइदिएका रहेछन् । हिजोका तुलसी घिमिरे, प्रकाश थापा, शिव रेग्मी जति पनि हुनुहुन्थ्यो नि, उहाँहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, स्मरण पनि गर्न चाहन्छु । फाउण्डेसन राम्रो हुँदाहुँदै पनि हामीले घर राम्रो बनाउन सकिरहेको अवस्था छैन । घर भत्किएको छ, परेको सुन्दर घरमा गएर बस्ने कल्पना गर्न त सक्छु । तर त्यहाँ म अटाउँछु कि अटाउँदिन भन्ने कुरा पनि हो ।

नेपाली दर्शकलाई घरघरबाट निकालेर हलसम्म तान्ने परिपाटी पहिला जस्तो हुन्थ्यो, त्यस्तो पाँच-सात वर्षयता म देख्दिनँ । दर्शक किन कम आएका छन्, किन हरेक समुदायलाई सम्बोधन गर्न सकिएको छैन भन्ने कुरा बुझ्नुपर्‍यो । हामीले पल्लो घरको छिमेकीलाई निश्चित तुल्याउन सकेका छैनौं भने ओस्कारमा कसरी पुग्ने होला ? पहिलो प्राथमिकताको रुपमा हामीले नेपालभित्र फिल्म हेर्ने संस्कृति बसाल्न सकेको खण्डमा यसले आर्थिक रुपमा पनि राम्रो हुन्छ र ठूलो सोच राख्न सक्छौं । मैले मालिका, रुद्रप्रियामा गरेको त्रुटि अर्थात् दर्शकलाई यति भए पुग्छ भनेर जुन नजरअन्दाज गरें, त्यसप्रति मलाई पछुतो छ । यो पश्चातापलाई परिपूर्ति गर्ने काम उपहारमा गरेको छु । यसमा कुनै सम्झौता गरेका छैनौं । आजसम्मकै राम्रो फिल्म बनाएको छु र खेलेको छु भन्ने लाग्छ ।

आफूले आफूलाई बच्चा उपहार दिइसकेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि विश्राम ?

(हाँस्दै…) यो पुरुषवादी सोच भयो नि । विवाहित भएपछि फिल्म चल्दैन भन्ने ट्रेन्ड ब्रेक भइसक्यो । एउटा विवाहित महिला वा आमा करिअरको शिखरमा पुग्न सक्छे भन्ने उदाहरण धेरै छैन । आमा बन्ने बित्तिकै तिमीले करिअर छाड्नुपर्छ वा ब्याक हुन्छौ भन्ने कुरा चाहिं यो एउटा दिवास्वप्न जस्तो लाग्छ । आमा बनिसकेपछि महिला झन् सक्षम, सशक्त र बहादुर बन्छे र ऊ हिजोभन्दा आज सुन्दर हुन्छे र अझै राम्रो काम गर्न सक्छे ।

बच्चा हुँदैमा बच्चाको पछि लाग्नुपर्छ भन्ने मलाई लाग्दैन । करिअरलाई निरन्तरता दिएर काम गर्दै गर्दा बच्चाको भविष्य अन्धकार हुँदैन । म वैशाखमा आउँदैछु । हामीले भदौमा अर्को फिल्म गर्दैछौं । दुई-तीन वटा स्क्रिप्ट पढिराख्या छु । फिल्म त मेरो पहिलो प्रेम हो । काम त अवश्य गर्छु नि । अभिनय पनि गर्छु । कतिपयले भन्नुभयो- उपहारमा म पहिलेभन्दा अझ राम्री देखिएको छु । पहिलेभन्दा सक्षम भएर काम गरेको छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button