समाचार

किशोरी छिराउने एलओडीको कर्तुतबाट प्रहरी हैरान, अपराधले सीमा नाघ्याे, बन्द हुन सक्छ क्लव

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एलओडी क्लवले उमेर नपुगेकी किशोरीलाई क्लवमा छिर्न दिँदा किशोरी बलात्कृत हुनु परेको छ ।

नाइट क्लवहरूमा उमेर नपुगेका किशोर र किशोरीलाई प्रवेश निषेध गरिएको छ । तर, एलओडीले पैसा कमाउने बहानामा उमेर नपुगेका किशोर र किशोरीलाई प्रवेश दिएका कारण बलात्कार र हिंसाका घटना भएको आरोप लागेको छ । एलओडी क्लवको नाम जोडिएर बेलाबेला विभिन्न खालका अपराधका घटना भएको बाहिर आउने गरेका छन् । एलओडी क्लवमा लगानी गर्नेहरू नेपाली सेना, नेपाल प्रहरी, ठेकेदार, ठूला व्यापारी, राजनीतिक दलका नेताहरूको अदृष्य लगानी रहेको छ ।

एलओडीको नाममा कुनै अप्रिय घटना हुनेवित्तिकै राजनीतिक पहुँच र शक्तिका आडमा घटनालाई सामसुम पार्ने कार्य हुँदै आएका छन् ।

१५ वर्षीया किशोरी बलात्कार भएको घटनामा ललितपुर प्रहरीले एलओडी क्लवलाई पनि शंकाको घेरामा राखेको छ । एलओडी क्लवले कानून विपरित किन १५ वर्षीया किशोरीलाई क्लवमा छिर्न दियो भनेर सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) नमराज कार्कीले बताएका छन् । कार्कीले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ । एलओडी क्लवभित्र उमेर नपुगेकी किशोरीलाई कसले र किन प्रवेश गराइयो ? यो विषय पनि अनुसन्धानको दायरामा छ । अनुसन्धानका क्रममा रहेकाले धेरै बोल्न मिल्दैन ।’

उमेर नपुगेकी किशोरीलाई प्रवेश गराएको हो वा होइन भन्ने विषयमा प्रतिक्रिया लिन एलओडीको व्यवस्थापनलाई सम्पर्क गर्दा शहदेव सेढाइँ सम्पर्कमा आएका थिए । उनले भने, ‘म बुकिङ लिने मान्छे हो । सर बाहिर जानु भा’छ क्यारे ! मलाई त थाहा भएन ।’ क्लवको आधिकारिक व्यक्ति के हो ? सम्पर्क नम्बर पाउँभन्दा उनले दिन मानेनन् । एलओडीका अरु व्यक्ति सम्पर्कमा आउन चाहेनन् ।

एलओडी क्लवले कानून विपरित किशोर र किशोरीलाई छिराएर हिँसा र अपराधका घटना भएका पुष्टि भएमा क्लव प्रहरी प्रशासनले एलओडीलाई बन्द पनि गराउन सक्छ । एलओडीका कर्तुतहरूबाट प्रहरी पनि निकै तनावमा आएको छ । प्रहरी वृत्त सोह्रखुट्टे पनि एलओडीको हर्कतबाट दिक्क भएको छ । एलओडीले बेलाबेला दिने विभिन्न खालका दवावबाट प्रहरीले तनाब झेलिरहेको छ ।

एलओडी क्लबमा नाचेर रमाइलो गरेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेपछि एलओडीको कर्तुत बाहिर आएको छ ।

उदयपुर जिल्ला स्थायी घर भई हाल कोटेश्वर बस्दै आएकी किशोरी एओडी क्लव छिरेकी थिइन् ।

बालिकालाई जेठ ३१ गते एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर कोइरालाले बागडोल पुर्‍याएर बलात्कार गरेको आरोप छ ।

कोइरालाको स्थायी घर पोखरामा पर्छ । उनी हाल ललितपुरको बागडोल बस्दै आएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले १५ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरिएको बताएका छन् ।

बागडोलमा कोइरालाको कार्यालय रहेको छ । सोही कार्यालयमा लगेर कोइरालाले किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको एसएसपी शाहले बताएका छन् ।

यसअघि वैशाख १५ गते एलओडीका दुई जना महिला पनि बलात्कृत भएका थिए । क्लबको सरसफाइको काम गर्ने दुई महिलालाई बिहान एक होटलमा लगेर बलात्कार गरेको खुलेको थियो ।

खाजा खुवाउने भन्दै एक खाजा पसलमा मदिरा खुवाएर होटलमा पुर्‍याई बलात्कार गरिएको थियो ।

सोही अभियोगमा प्रहरीले खोटाङको बाह्रपोखरी गाउँपालिका– २, स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button