समाचार

ठमेलमा फेरि बढ्यो गुण्डाराज, गुण्डा नाइकेबाट कुटिन थाले क्लब व्यवसायी र कामदार

काठमाडौं । पछिल्लो केही समयदेखि ठमेलमा रोकिएको गुण्डाराज फेरि सुरु हुन थालेको भन्दै व्यवसायीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । तत्कालीन प्रहरी प्रमुखहरूले ठमेल क्लिन गर्ने अभियान नै चलाएर गुण्डाहरुमाथि धरपकड र इन्काउन्टर गरेपछि केही समय ठमेल शान्त बनेको थियो ।

यद्यपि, केही महिनादेखि ठमेलमा विशेषतः रात्रिकालीन व्यवसायीलाई गुण्डाले आक्रमणको निसाना बनाउन थालेका छन् । रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने तर बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट र तोडफोड गर्ने समूहलाई प्रहरीले कानूनी कारबाही गर्न नसकेको आरोप लगाइएको छ ।

पछिल्लो एक घटना हो ओम्निया क्लबको र पीडित व्यवसायी हुन्, राजेन्द्र गुरुङ । गुण्डाको पक्षमा राजनीतिक नेता र मन्त्रीका स्वकीय सचिव नै उभिएपछि आफूहरू निरीह बन्ने गरेको उनले गुनासो गरेका छन् ।

नुवाकोट सूर्यगढी गाउँपालिका– १ का राजेन्द्र गुरुङ काठमाडौंको ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक हुन् । उनले उक्त व्यवसाय चलाएको चार महिना मात्रै भयो । वैदेशिक रोजगारमा लामो बिताएका उनले नेपालमै केही गर्ने सोचका साथ फर्किएका कारण होटल व्यवसाय सुरु गरेका हुन् ।

गुण्डाराज र त्यसलाई राजनीतिक संरक्षणका कारण अहिले भने क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै नेपालमा व्यवसाय गर्न नसकिने निष्कर्षमा पुगेको बताउँछन् ।

व्यवसायीले व्यवसाय गर्दा घाटा मात्रै नभएर कहिलेकाहीँ टोले गुण्डाहरुको मुक्का पनि खानुपर्ने गरेको उनले दुख सुनाए ।

घटना गत असार १५ गते शुक्रवारको हो । सदाझैँ उनी आफ्नो क्लबमा नै थिए । रातको करिब २ बजेको समयमा नुवाकोट ककनी गाउँपालिका– ५ का सानुभाई भनिने युवराज गुरुङ क्लबभित्र पसे ।

उनी यसअघि पनि पटक–पटक क्लबमा ग्याङसहित आउने गरेको सञ्चालकले बताए। सञ्चालक राजेन्द्र यसअघि पनि पटक–पटक सानुभाई भनिने युवराजले क्लबमा खाँदा उठेको बिल तिर्न समेत बेवास्ता गर्ने गरेको बताउँछन् ।

सानुभाई भनिने युवराजले आफूहरूसँग विभिन्न बहाना बनाएर पटक– पटक झण्डै ५९ लाखभन्दा बढी रकम नगदै लिएको सञ्चालक राजेन्द्रले दाबी गरेका छन् । विभिन्न बहानामा पैसा उठाउँदै आएका सानुभाई भनिने युवराज र क्लब सञ्चालक राजेन्द्रबीच केही समयदेखि राम्रो सम्बन्ध थिएन ।

पैसा फिर्ता आउँदैन भन्ने थाह भएर पनि पैसा दिन बाध्य भएको सञ्चालक राजेन्द्रको भनाई छ । सोही क्रममा असार १५ गते सानुभाई भनिने युवराज रातको करिब २ बजे ग्याङसहित क्लबमा छिरे । उनीहरूको समूहले क्लबका कर्मचारीसहित सञ्चालक राजेन्द्रसमेतमाथि हातपात गरेको प्राप्त सिसिटिभी फुटेज हेर्दा देखिन्छ ।

सानुभाईले क्लबका कर्मचारीहरू शुरेस खड्का, आशिस नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको सञ्चालक राजेन्द्रले बताए। सानुभाईले व्यवसाय नै बन्द गराइदिने धम्की दिएकोसमेत उनले आरोप लगाएका छन् ।

उक्त दिन सानुभाईको साथमा आएका १५ जनाभन्दा बढीको समूहले डेढ लाखभन्दा बढी मूल्यको भौतिक संरचना तोडफोड गरेको सञ्चालक राजेन्द्रको दाबी छ । सानुभाईको समूहको आक्रमणबाट राजेन्द्रको घाँटीको दाहिनेपट्टी चोटसमेत लागेको छ ।

सानुभाई भनिने युवराज गुरुङ यसअघि पनि थुप्रै आपराधिक घटनामा जोडिएका व्यक्ति हुन्। उनी प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैँटेका प्रमुख सहयोगी पात्रका रूपमा चिनिन्छन्। सानुभाई भनिने गुण्डा नाइके युवराजले २०६७ सालमा नुवाकोट आप्रहका निर्माण व्यवसायी अनिल श्रेष्ठमाथि हप्ता असुली नदिएको भन्दै गोली चलाएका थिए। उक्त घटनामा गोली लागेर अनिल घाइते हुन पुगेका थिए ।

उनलाई प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामा २०७२ पुसमा नियन्त्रणमा समेत लिएको थियो । त्यसबेला प्रहरीले उनको साथबाट एक राउन्ड गोली लोड गरिएको रिभल्वर (पेस्तोल) बरामद गरेको थियो ।

प्रहरीका अनुसार घैँटेको इन्काउन्टरपछि सानुभाईको समूहले इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीसँग बदला लिने योजना बुनेका थिए ।
त्यसैगरी, नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष मार्ने योजनासहित आक्रमण गरेका थिए । त्यसबेला सुरेश र गुण्डा नाइके सानुभाईबीचको विवाद प्रहरी कहाँ पुगेपनि राजनीतिक प्रभाव र दबाबमा प्रहरीले उनलाई कुनै कारबाही नगरी छाडेको थियो ।

उनको समूह २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमणको घटनामा पनि संलग्न रहेको थियो । त्यसैगरी, सानुभाईकै समूहले २०७१ सालमा आक्रमणबाटै डोलबहादुर घलेको आँखा नै गुमेको थियो ।

२०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको दुष्प्रयास समेत गरेका थिए । उनलाई त्यहाँका स्थानीयहरूले समाते पनि उनी पेपर स्प्रे छर्किएर भागेका थिए ।

प्रहरी स्रोतका अनुसार सानुभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध प्रहरीमा अहिले पनि नौ वटाभन्दा बढी केस दर्ता भएका छन्। तरुण दलमा आबद्ध उनी नेपाली कांग्रेस नेतृत्व निकट मानिन्छन् ।

लामो समयदेखि विभिन्न अपराधमा संलग्न सानभाई भनिने गुण्डा नाइके युवराजविरुद्ध क्लब ओम्नियाका सञ्चालक राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा जाहेरी दिएका छन् ।

सोह्रखुट्टेका नेपाल प्रहरी प्रमुख डिएसपी गणेश बमले सो घटनामा संलग्नमध्ये दुई जनालाई पक्राउ गरी मुद्दा चलाइएको र बाँकी फरार रहेको जानकारी दिए । सिसिटिभीमा देखिने सबैभन्दा पहिले हातपात गर्ने निरज गुरुङ र त्यसपछि पटक–टपक कुट्ने युवराज भने फरार रहेका छन् ।

सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी पर्दा पनि उनी अहिलेसम्म समातिएका छैनन् । राजनीतिक नेतृत्वको दबाबका कारण प्रहरीले गुण्डा नाइकेलाई खोजबिन नगरेको आरोप समेत ठमेलका व्यवसायीले लगाएका छन् ।क्लब ओम्नियाको घटनामा उजुरी परेपछि पनि सानुभाईलाई सोह्रखुट्टे वृत्तमा रहेका केही प्रहरीसँगै देखेको व्यवसायीहरू बताउँछन् ।

अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव उत्तम पाठकको नाम लिएर थर्काउने गरेको उनको आरोप छ ।

मान सम्मान नदिएको भन्दै मध्यरातमा आएको गुन्डा समूहले हातपात गर्‍यो: क्लब सञ्चालक

क्लब सञ्चालक राजेन्द्रले आफूहरूलाई मान सम्मान नदिएको भन्दै गुन्डाहरूको समूहले कुटपिट गरिएको बताए ।

‘युवराज र निरजसहितको समूह राती २ बजे क्लबको इन्ट्रान्समा आएर लफडा गर्न खोजिरहेका थिए। हामीलाई मान सम्मान भएन, हेप्ने ? कुरा काट्ने भन्दै निहु खोजे। निरजले बाउन्सरलाई थप्पड हाने। फेरी पछि आएर पनि थप्पड हाने। हाम्रो भाइहरूले जवाफ फर्काएपछि उनीहरू भागेका थिए’, उनले भने ।

उनले भागिरहेका विनोद लामा र रघु लामालाई तत्कालै पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको उनको भनाई छ ।

‘घटनाको भोलिपल्टै हामीले सोह्रखुट्टे प्रहरी वृत्त र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थियौँ। तर अन्य पक्राउ पर्न सकेका छैनन्’, राजेन्द्रले भने।

राजेन्द्रले बताएअनुसार युवराज उनका नातेदार समेत हुन् । एक दशक भन्दा लामो समय विदेशमा काम गरी ३ वर्षअघि स्वदेश फर्किएपछि उनले ठमेलमा क्लब सुरुआत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button