स्वास्थ्य

टाउको दुख्छ ? यस्ता राेगकाे हुन सक्छ संकेत

टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, यो संवेदनशील हुन्छ । टाउको दुख्नु साझा समस्या हो । अधिकांश व्यक्तिले कहीँ न कहीँ टाउको दुखिरहेको गुनासो गरिरहेका हुन्छन् । खासगरी टाउको दुखाइ पनि विभिन्न प्रकारका हुन्छन् । मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको छ । आजको नयाँ पत्रिकामा डा. दीपेश शाक्यले यसबारे जानकारी दिएका छन् ।

प्राइमरी हेडेक

प्राइमरी हेडेकअन्तर्गत टेन्सन हेडेक, माइग्रेन, कलस्टर आदि पर्छन् । करिब ६५ प्रतिशतमा टेन्सन अर्थात् तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउ को कस्सिएको जस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई/तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलि शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । माइग्रेन कडा खालको टाउको दुखाइ हो । यो ३ घन्टा देखि ७२ घन्टासम्म हुन सक्छ ।

माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भागमा समस्या देखिन्छ । वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता लक्षण देखिन्छन् । माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । माइग्रेन खासगरी अनिद्रा पर्दा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषणका कारण, महिलामा महिनावारी हुनुभन्दा अगाडि–पछाडि, ठूलो भिडभाड आदि विभिन्न कारणले हुने गर्छ । कतिपयमा वंशाणुुगत गुणका कारण पनि हुन्छ ।

हरेक व्यक्तिमा एउटै मौसममा झन्डै एकै समयमा समस्या देखिनु कलस्टर हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही मौसमको सोही समयमा टाउको दुख्ने गर्छ । यस्तो समस्या एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ। आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् ।

सेकेन्डरी हेडेक

दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ ।

के गर्ने ?

अधिकांशमा टाउको दुख्ने सामान्य समस्या हो भन्ने भ्रम व्याप्त छ । टाउको दुखाइ अन्य रोगको लक्षण पनि हुन सक्ने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ । जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन । स्वास्थ्यमा अन्य असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहमा मात्रा औषधि प्रयोग गर्न गर्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button