समाचार

एमालेलाई गृहमन्त्रीको कडा जवाफ- मेरो राजीनामा आउँदैन, भ्रष्टाचार र तस्करी नगरेको भए मजाले निदाउनू

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग्दैमा आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । एमालेले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरिरहेको बेलामा उनले आफू राजीनामा नदिने प्रष्ट पारे।

महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, भ्रष्टाचार र विकृतिको डंगुर थुपार्न आफूलाई हटाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘अहिलेको सरकारले एक सूत्रीय कार्यक्रम बनाएको छ सुशासन, समृद्धि र सामाजिक न्याय । तपाईंहरुले अहिले देख्नुभएको छ, भ्रष्टाचार र बेथितिविरुद्ध ठूल्ठूला अभियानहरु सञ्चालन गरिरहेका छौं । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्ने पहलकदमी अगाडि बढाएका छौं । यस्ता कदमले विश्राम लिनेवाला छैन । अब पुग्यो भनेर सरकार बस्दैन ।’

कसैले अब सरकार चुप बस्छ भन्ने आशा गरेको भए त्यो सत्य नहुने बताए।

उनले भने, ‘भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरुको विरुद्ध हामी अन्तिम विन्दूसम्म अगाडि बढ्छौं । तपाईंहरुले देख्नुभएको छ, जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाउँछ, उसले पद छाड्दिनुप¥यो भनेर कोही कोही कराइरहेका छन् । ठान्नुभएको होला छाड्दिएदेखि त अब अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डंगुर फेरि लगाउन पाइथ्यो । अहिलको छानबिनको प्रक्रिया रोकिन्थ्यो ठानेर कसैले भन्नुभएको छ भने म निवेदन गर्छु, त्यो दिन आउनेवाला छैन । हामी छाड्नेवाला छैनौं ।’

एमालेलाई लक्षित गर्दै सजिलो बनाउन आफूले थालेको अभियान नछाड्ने जिकिर गरे।

उनले थपे, ‘हामी लतिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन तस्करबारे पनि छानबिन अन्तिमसम्म पुर्‍याउँछौं । अनियमितता र कानूनको उल्लंघन भएको ठाउँमा कानूनको दायरामा ल्याउँछौं । एकचोटी धम्काएपछि पछाडि जान्छ भन्ने कसैले नसोचे हुन्छ । हामी विचलित हुनेवाला छैनौं । जनता हाम्रो साथमा छन् । यो देशको मुहार फेराउन अगाडि बढाउने संकल्प हाम्रो साथमा छ ।’

सरकारको ठूलो अभियान चलिरहेको बेलामा जनताको साथ भएपनि निजी स्वार्थमा मात्रै अस्तित्व देख्नेहरुले जनताको समर्थन र सत्यलाई देख्न सकेका आरोप लगाए

उनले भने, ‘म अहिले नै भन्छु, तपाईंहरु सच्चिनुस् । अहिले पनि मौका छ । कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे । मेरो के दोष भयो त ? गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने पनि सुत्ने ठाउँ छ । तपाईंहरुलाई आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने आउनुस् प्रहरीमा आत्मसमर्पण गर्नुस् । हामी मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं । अब छाड्नेवाला छैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button