समाचार

क्विन्टल सुन तस्करी : पक्राउ पर्ने सुइँको पाएर ६ दिनअघि भागेका थिए अडुकिया

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भएको करिब १ क्विन्टल सुन साउन २ गते सिनामंगलबाट बरामद गर्‍यो ।

विभागले भन्सारमा कार्यरत सशस्त्र प्रहरी टोलीको सहकार्यमा सुन बरामद गरेको थियो । त्यसपछि नेपालमा सुन तस्करीको एउटा नयाँ पर्दा उघारियो ।

विभागले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा अहिलेसम्म एक भारतीय र एक चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरिसकेको छ ।
पछिल्लोपटक विभागले ठमेलमा रहेको होटल भियानाका सञ्चालक दाबा छिरिङलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ ।

रेडी ट्रेडर्सका विभिन्न गोदाममा छापा हानिएको छ । चिनियाँ नागरिकले सञ्चालन गरेका गोदाममा पनि प्रहरीले छापा हानिरहेको छ ।

विभागले यसैक्रममा एक व्यापारीको घरमा छापा हानेको थियो ।

उनी हुन्, गोरखा विकास बैंक डुबाउनेमध्येका एक, नेटवर्किङ व्यवसायका कुख्यात एवं पछिल्लो समय शेयर कारोबारमा समेत बदनामी कमाएका राजेशकुमार अडुकिया ।

स्रोतको भनाइलाई आधार मान्ने हो भने अडुकियासँग नेपाली नागरिकता, राहदानी र भारतीय राहदानी छ । यसको पुष्टि उनी पछिल्लो समय नेपालबाट हङकङको यात्रा गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) ले पनि गर्छ ।

उनी पछिल्लो समय करिब १०० किलो सुन प्रकरणमा पनि जोडिएका छन् ।

विमानस्थलबाट सुन बरामद गरेको ९ दिनपछि साउन ११ गते प्रहरीले उनको घरमा छापा हानेको थियो । भन्सार विभागले सुनसँग कनेक्सन देखिएपछि छापा हानिएको बताएको थियो ।

विभागको स्रोतका अनुसार उनले बैंककमा चाँदी पसल सञ्चालन गर्दै आएका छन् । त्यसैको आडमा नेपालमा चिनियाँहरूसँग मिलेर सुन तस्करी गरेको हुनसक्ने आशंका विभागले गरेको छ ।

‘अडुकिया सुन तस्करीको मुख्य नाइकेमध्ये एक हुन् भन्ने हाम्रो आशंका हो । उनको कनेक्सन हेर्दा पनि त्यस्तो देखिन्छ,’ राजस्व अनुसन्धान विभागका एक कर्मचारीले लोकान्तरसँग भने ।

अडुकिया हङकङबाट आएको सुन नेपालमा व्यवस्थापन गरेर भारतीय बजारसम्म पुर्‍याउनेमध्येका एक व्यक्ति हुन् । १०० केजी सुन प्रकरण बाहिर आएपछि उनी अहिले फरार छन् ।

उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका प्रहरीको छ ।‘सुन प्रकरण बाहिर आएलगत्तै उनी भारततर्फ भागेको बुझिएको छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।

अध्यागमन विभाग स्रोतका अनुसार ६ दिन अगाडि अर्थात सन् २०२३ जुलाइ २४ तारिख (२०८० साउन ८) गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पोर्ट प्रयोग गरेर बाहिरिएका हुन् ।

‘जुलाइ २४ तारिखमा डिपोर्ट भएको देखिन्छ । कुन देश गए भन्ने देखिँदैन, तर डिपोर्ट भएको चाहिँ देखिन्छ,’ अध्यागमन विभाग स्रोतले लोकान्तरसँग भन्यो ।

अनुसन्धानको सुई आफूतिर सोझिने सुइँको पाएपछि उनी सम्पूर्ण राज्य संयन्त्र र सुरक्षा निकायलाई चक्मा दिँदै भाग्न सफल भएका हुन् ।

‘पहिले यस प्रकरणको अनुसन्धानमा प्रहरी संलग्न थिएन । उनी फरार हुँदा प्रहरीले थाहा पाउने भन्ने कुरा भएन, तर अरू संयन्त्रले पनि सुइँको पाएनन्,’ एक उच्च प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

अहिले राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेर अन्तर्राष्ट्रिय कनेक्सनबारे अनुसन्धान गरिरहेको छ । त्यसका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीको नेतृत्वमा प्रहरी टोली पठाएको छ ।

विभागले आज (आइतवार) मात्रै काठमाडौंको टोखामा रहेको एउटा कारखानामा छापा हानेको छ । त्यहाँ सुन गाल्ने तथा आकार दिने काम हुने गरेको पाइएको छ ।

यस प्रकरणमा अडुकियाको संलग्नताबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

अडुकिया नेपालमा सुन बरामद हुनुभन्दा केही अगाडि अर्थात जुन २६ गते नेपाल वायु सेवाको जहाजबाट भारतीय राहदानी जेड ६३९६४२१ बोकेर भारत हुँदै हङकङ पुगेका थिए ।

स्रोतका अनुसार १२ दिनसम्म हङकङ बसेर जुलाइ ५ मा दुबई हुँदै उनी नेपाल आएको देखिएको छ ।

सुन तस्करी भएको मुख्य समयमा नेपाल–भारत–हङकङ ओहोरदोहोर गर्नुले पनि उनी सुन व्यवस्थापन गर्ने मध्येका एक हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

कर छलीको विगत

राजेशकुमार अडुकियाले कर छलेको पैसा लुकाउन ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोलेको खुलासा पानामा पेपर्सले गरेको थियो ।

साथै उनकै नाममा हङकङको फिप्थ फ्लोर, ओसन भ्यु कोर्ट, २३ चथम रोड साउथ, सिम सा त्सुई काउलुन ठेगाना भएको कृषि प्रिमुराहोल्डिङ्स लिमिटेड नामको कम्पनी खोलेको पनि पानामा पेपर्समा उल्लेख थियो ।

अन्य केही व्यापारीको कम्पनी दक्षिण अफ्रिकामा देखाइए पनि उनको कम्पनी मात्र हङकङमा देखाइएको थियो ।

उनको कम्पनी सन् २००७ जुलाइ ६ तारिखमा खोलेको पाइएको थियो । उनले २०७३ असार १७ गते तीन घुम्ती फिल्मसमेत निर्माण गरेर प्रदर्शन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button