समाचार

डेढ महिनादेखि बेपत्ता मञ्जुको आफन्तबाटै हत्या, सौतासहित चार जना पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी सौतासहित चार जनालाई पक्राउ गरेको छ ।

रावलको हत्यामा संलग्न भएको आरोपमा सरिता रावल, मृतककी सौता गोमा रावल, सौताका छोरा भरत रावल, छोरी वर्षा रावललाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप चन्दले जानकारी दिए । उनका अनुसार गोमा रावललाई दीपायल र बाँकी तीनलाई धनगढीबाट पक्राउ गरिएको हो ।

गत जेठ २५ गतेदेखि बेपत्ता भएको मञ्जु रावललाई मोहन्याल गाउँपालिकाको बाँसबारी सामुदायिक वनको खोल्सामा आइतवार मृत फेला पारिएको थियो । मृतक रावलको हड्डी र कङ्काल भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमानको निधनपछि दुई सौताबीच अंशबण्डाका विषयमा विवाद शुरू भएको थियो ।

विवादित जग्गा मृतक मञ्जुका नाममा थियो । मृतकका भाइ सुरेन्द्र कार्कीले दिदी मञ्जुलाई बेपत्ता परेको भन्दै गोमा रावल, भरत रावल र अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–६ का सरिता रावल समेतको नाममा किटानी जाहेरी दिएका थिए । साथै मृतकका छोरा विवेक रावलले यही असार १ गते आमा मञ्जुको खोजतलास गरी पाउँ भनी इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।

मृतक मञ्जुको श्रीमान् जनक रावलसँग २०७६ असारमा सम्बन्धविच्छेद भएको थियो भने अर्को वर्षको चैतमा जनक रावलको निधन भएको थियो । श्रीमान्को मृत्युपछि दुवै सौताले वडा कार्यालयमा मृत्यु दर्ता गराएका थिए ।

सम्बन्धविच्छेदपछि मृतक मञ्जुले मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा झुठा विवरण राखेर आफ्नो नाम राखेपछि निजको सौता गोमाले मञ्जुको नाम हटाई पाउँ भनी निवेदन दिएकी थिइन् । झुठो विवरण पेस गरी मृत्यु दर्ता गरिएको कसुरमा मञ्जुमाथि मुद्दा चलेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button