समाचार

बोरामा सय रूपैयाँ बढ्यो चामलको भाउ

भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य बढेको छ।

१० दिनअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले आफ्नो देशमा चामलको सुनिश्चितता र घरेलु बजारमा मूल्य वृद्धि कम गर्न बासमतीबाहेकका अरू चामल निर्यातमा रोक लगाएको थियो।

जिरा मसिनो र सोना मंसुली चामल बोरामा एकसय रूपैयाँसम्म बढेको खुद्रा व्यवसायी चन्द्र थापाले जानकारी दिए।

‘एक सातामै चामल एकसय रूपैयाँ बढिसक्यो,’ उनले भने, ‘यसको कारण के हो मैले पनि बुझेको छैन।’

थापाका अनुसार भारतले निर्यात प्रतिबन्ध गर्नुअघि प्रतिबोरा दुई हजारदेखि दुई हजार ५० रूपैयाँमा बिक्री भएको चामल अहिले दुई हजार एक सयदेखि दुई हजार एक सय ५० रूपैयाँसम्म पुगेको छ। यो एक बोरामा २५ किलो हुन्छ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएकै कारण चामलको मूल्य बढ्नु नपर्ने उनको भनाइ छ। सरकारले तुरून्तै बजार अनुगमन नगरे अझै मूल्य बढ्ने उनले बताए।

‘प्रतिबन्धकै कारण हो भने पनि एक हप्तामै कसरी बढ्छ?’ उनले प्रश्न गरे, ‘मौज्दात सामनको मूल्य बढाउन मिल्छ?’

निर्यात प्रतिबन्ध गर्ने बित्तिकै मूल्य बढाएर व्यापारीले मौकाको फाइदा उठाएको उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन्।

Ncell
‘धान आएकै छ अहिले मूल्य बढाउनु पर्ने कारण छैन,’ उनले भने, ‘सरकारले तुरून्त अनुगमन गर्नुपर्छ।’

भारतबाट आउने धानको मूल्य बढेको कारण चामलको मूल्य वृद्धि भएको नेपाल चामल, तेल, दाल उत्पादक संघका द्वितीय उपाध्यक्ष नरेश राठी बताउँछन्।

उनका अनुसार भारतबाट ६/७ महिनादेखि नै चामल निर्यात भएको छैन।

‘धानको मूल्य बढेको छ। धान पाइएको छैन,’ उनले भने।

भारतबाट दिएको धानको कोटा पनि सकिन लागेको उनले जानकारी दिए।

उनकाअनुसार हालसम्म साढे पाँच लाख टन धान भित्रिसकेको छ, बाँकी धान पनि एक/डेढ महिनामै आउने छ।

भारतले गत वर्ष नै चामल निर्यातमा कर बढाएर धानमा कोटा निर्धारण गरिदिएको थियो। यही कारण चामलको आयात कम भइसकेको उनले बताए।

‘भारतले निर्यातमा कर लगाएदेखि नै धेरै चामल आयात भएको छैन,’ राठीले भने, ‘धानमा कोटा भएकाले अहिले प्रायः उद्योगले धान नै ल्याएर चामल बनाएर बिक्री गरिरहेका छन्।’

संघका अध्यक्ष सुबोधकुमार गुप्ता चामलको मूल्य बढ्न नदिन भारतले गत वर्षझैं यसपाली पनि भन्सार छुटमा धान उपलब्ध गराउनु पर्ने बताउँछन्।

अहिलेको अवस्थामा पहिलेभन्दा धेरै परिमाणको धानमा छुट हुनुपर्छ। पहिलेको ६ लाख मेट्रिक टन बराबर मात्र छुट पाउँदा स्थानीय बजारको माग धान्न सक्दैन। यसले बजार मूल्यमा असर पर्नेछ।

‘अहिलेकै अवस्थामा बजार माग धान्न यस वर्ष भारतले १५ लाख मेट्रिक टन धान भन्सार छुटमा दिनुपर्छ,’ गुप्ताले भने, ‘भारत सरकारबाट यो परिमाणको धान उपलब्ध गराउन हामी पहल गर्छौं। सरकारले पनि पहल गर्नुपर्छ। भन्सार छुटमा ल्याउन सकियो भने यहाँ चामलको मूल्य बढ्दैन।’

गत वर्ष भदौ अन्तिमदेखि भारतले कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो। नेपाललाई भने वार्षिक ६ लाख मेट्रिक टन धानको कोटा निर्धारण गरी भन्सार छुट दिएको थियो।

भारत विश्वकै प्रमुख चामल निर्यातकर्ता हो। विश्वव्यापी चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ।

नेपालमा पनि ठूलो परिमाणमा भारतीय चामल भित्रिने गरेको छ। हामीकहाँ धेरै भित्रिने भनेको जिरा मसिनो र मोटा चामल हो। बासमती, ब्राउन राइस र अरू प्रकारको चामल पनि भित्रिन्छ तर यिनको हिस्सा कम छ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार हामीकहाँ भारतबाट आउने चामललाई मुख्य गरी चार प्रकारमा विभाजन गरिएको छ– मोटा, मध्यम, मसिनो र बास्नादार।

‘अहिले आयातीत चामलमध्ये करिब आधा परिमाण मोटा र मध्यम चामलको छ भने बाँकी आधा मसिनो र बास्नादार छ। यो समग्रमा गैर–बासमती चामल हो,’ सञ्जेलले भने।

मन्त्रालयका अनुसार हामीकहाँ चामलका लागि वार्षिक ६६ लाख मेट्रिक टन धानको माग छ। त्यसमध्ये देशमै उत्पादन हुने ५६ लाख मेट्रिक टन हो। यो भनेको राम्रो उत्पादन भएका बेलाको औसत परिमाण हो। हाम्रो माग पूरा गर्न बाँकी १० लाख मेट्रिक टन धान भारतबाट आयात हुने गरेको छ।

यो धानको ६० प्रतिशत बराबर चामल बन्छ। यस हिसाबले हाम्रो बजारमा करिब ४० लाख मेट्रिक टन चामलको माग छ।

यसमध्ये करिब ६ लाख मेट्रिक टन चामलको माग हामीले भारतबाट ल्याएर पूरा गरिरहेका छौं। यो परिमाणमा धान भित्र्याएर बनाइएको चामल पनि पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button