समाचार

नेपालका तीन महिला चार महिनादेखि दक्षिण अमेरिकी मुलुकमा बन्धक

नेपाली तीन महिला चार महिनादेखि दक्षिण अमेरिकास्थित क्यारेबियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलको हिरासतमा रहेका छन् । उनीहरूलाई विमानस्थलको अध्यागमनले नभई क्यारेबियन एयरलाइन्सका सुरक्षाकर्मीले बन्धक बनाएका हुन् ।

वैदेशिक रोजगारको सिलसिलामा अर्को गन्तव्यका लागि हिँडेका मकवानपुरकी ३५ वर्षीया तीर्था लामा वाइबा (पासपोर्ट नम्बर ०७२८७८१०, सिन्धुपाल्चोककी ४४ वर्षीया सेरसाङ लामा (पासपोर्ट नम्बर ०६९०२४००) र सिन्धुपाल्चोककी ४० वर्षीय याङ्जेन शेर्पा (पासपोर्ट नम्बर ०७८२९३७४) ट्रिनिडाड एन्ड टोबागोमा अमानवीय रूपमा बन्धक बनाइएका छन् । चार महिनापछि परिवारसँग अप्रत्यक्ष सम्पर्कमा आए पनि उनीहरूलाई कसैसँग भेट गर्न दिइएको छैन ।

ट्रिनिडाड एन्ड टोबागोमा होटेल व्यवसाय गर्दै आएका काभ्रेका तेज लामाले अप्रिलदेखि तीनजना महिला थुनिएको र उनीहरूलाई बाहिर निकाल्ने प्रयास सफल नभएको जानकारी दिए । ‘उनीहरू अध्यागमनको हिरासतमा रहेको सुनेपछि हामीले पत्ता लगाउने प्रयास गर्‍यौँ । मैले धेरैपटक सम्पर्क गरेर खोजीनीति गरेपछि थाहा भयो कि उनीहरूलाई क्यारेबियन एयरलाइन्सको सुरक्षा टिमले थुनेर राखेको छ,’ लामाले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘एयरपोर्टमै क्यारेबियन एयरलाइन्सको कार्यालय र सुरक्षाकर्मीहरू बस्ने ठाउँमा अमानवीय रूपमा थुनेर राखेको पत्ता लागेको छ ।’

लामाले क्यारेबियन एयरलाइन्सका अधिकारीसँग कुराकानी गरेर नेपालतर्फ डिपोर्ट गर्ने प्रयास गरेको, तर असफल भएको बताए । ‘मैले चासो राख्दा क्यारेबियन एयरलाइन्सको सुरक्षाकर्मीले आफन्त हौँ भनेर सोधे, मैले आफन्त होइन, चिनेकै दाजुभाइ हुँ भन्दा कुरा गर्दैनौँ भने,’ लामाले सुनाए ।

ती महिला ट्रिनिडाड एन्ड टोबागो पुगेर त्यहाँबाट जमैका टापु पुगेका रहेछन् । ‘त्यहाँबाट डिपोर्ट भएर टोबागो ल्याइएको रहेछ । त्यहाँबाट बाहिर निस्कन पाएका छैनन्,’ लामाले भने, ‘उनीहरूले अमेरिका जान यो बाटो प्रयोग गरेको हुन सक्छ । तर, ट्रिनिडाड एन्ड टोबागोबाट अमेरिका जान सजिलो छैन ।’ लामाका अनुसार ट्रिनिडाड एन्ड टोबागोबाट चार महिनाअघि १२ जना नेपाली भागेका रहेछन् । ‘नेपालीहरू भागेपछि अहिले पक्राउ परेका तीनजनालाई कसैसँग सम्पर्क गर्न नदिने गरी राखिएको भन्ने सुनिएको छ । अब परराष्ट्र मन्त्रालयले काठमाडौंबाटै प्रयास नगरी उनीहरू निस्कन मुस्किल छ,’ लामाले भने ।

हिरासतमै रहेकामध्ये तीर्था लामाले एकजना स्पेनिसमार्फत लेखेको चिठी तेज लामाकहाँ पुगेको थियो । चिठीमा तीर्थाले ट्रिनिडाड एन्ड टोबागो विमानस्थलमा तीनजना महिलालाई अमानवीय रूपमा राखेको उल्लेख गरेकी छिन् । त्यहाँ भारतीय, पाकिस्तानी र अजरबैजानी नागरिक पनि पुगेको, तर उनीहरू सबैको उद्धार भइसकेको उनले लेखेकी छिन् । तीर्थाले घाम नदेखिने अँध्यारो कोठामा राखेको र यातना दिएको उल्लेख गरेकी छिन् ।

‘सेक्युरिटीले गो ब्याक होम भन्छ । मोबाइल दश मिनेटलाई देऊ टिकट गर्छु भन्दा पनि दिँदैन । हामी तीनजनालाई एकदम हप्काउँछ,’ उनले श्रीमान्को नाममा लेखेको चिठीमा उल्लेख छ, ‘फलामको रड बोकेर ३०–३० मिनेटमा ढोका खोल्छ, धम्की दिन्छ । पहिला त सुपरभाइजर आउँथ्यो । अहिले अरू केटाहरूको रुममा मात्र जान्छ, हामीलाई भेट्न मान्दैन । किन यसो गरेको, हामीले के बिगारेका छौ्रँ भन्दा अध्यागमनले राखेको हो, हामीले होइन भन्छ ।’ सबै कोठामा रिमोट रहेको, तर उनीहरूकोमा नरहेको चिठीमा लेखिएको छ ।

तेजलाई उनीहरूले चार महिनाअघि ट्रिनिडाड एन्ड टोबागोमा भेटेका थिए । ‘हामीसँग घुमघाम गरेपछि उनीहरू सम्पर्कबाहिर गए । म पनि आफ्नै रेस्टुरेन्ट व्यवसायमा व्यस्त भएँ,’ लामाले भने । उनीहरू १ अप्रिलमा त्यहाँ पुगेको र १५ दिन आफूसँगै रहेको लामाले बताएका छन् ।

नेपाल र ट्रिनिडाड एन्ड टोबागोबीच ६ जुन २०२२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो भेनेजुएलाको पारिपट्टि छ । लामाका अनुसार विगतमा धेरै नेपालीहरू अध्यागमनको हिरासतमा थिए । अहिले तीनजना महिला मात्रै बाँकी छन् । लामाले उनीहरूका आफन्त सम्पर्कमा आएको, तर उद्धारका लागि जाने अवस्था नरहेको बताए । ‘क्यारेबियन एयरलाइन्सका सुरक्षाकर्मी सम्पर्कमै आउँदैनन्, आए पनि कुराकानी गर्दैनन् । त्यहाँबाट डिपोर्ट गरेर नेपाल पठाइदिन पनि मान्दैनन् । किन यस्तो भएको हो म पनि अन्योलमा छु,’ लामाले भने, ‘विगतमा धेरै नेपालीलाई कठिन अवस्थाबाट उद्धार गरेर फर्काइयो । तर यी तीनजना महिलालाई त्यहाँबाट बाहिर निकाल्न सकिएन ।’-पर्शुराम काफ्ले/nayapatrikadaily

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button