फूलकुमारीले जन्माएको बच्चा अस्पतालबाटै गायब पार्ने प्रेमी र डाक्टर प्रहरी खोरमा
असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी (नाम परिवर्तन) लाई प्रसुति व्यथाले सतायो ।
अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन्। गोविन्दले उनलाई विराटनगरस्थित ग्रिनक्रस अस्पताल ल्याए ।
अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले फूलकुमारी चेकजाँच गरे। र, व्यथा अझै बढ्ने औषधि दिए । त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन् ।
भोलिपल्ट असार १४ गते अस्पतालले उनलाई डिस्चार्ज ग¥यो तर बच्चा देखिनन्। बच्चा नदेखेपछि फूलकुमारीले आफ्ना प्रेमीलाई बच्चाबारे सोधिन् ।
गोविन्दले बच्चा अस्पतालमै रहेको र उपचारका लागि केही दिन राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन् ।
‘उहाँले मलाई बच्चाबिना नै ट्याम्पोमा राखेर इटहरी पु¥याउनुभयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो,’ फूलकुमारीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनुभएन । ’
आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीमा पुगिन्। उनले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान थाल्यो। अन्ततः गत शुक्रबार प्रेमी र प्रसुति गराउने चिकित्सकलाई पक्राउ ग¥यो ।
स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण कोशी अस्पतालका पूर्वप्रमुखसमेत (मेडिकल सुपरिटेन्डेन्ट) हुन्। पक्राउ परेका २७ वर्षीय राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन् ।
‘असार १३ मा नर्मल रूपमा २६ वर्षीया अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएको पाइएको छ,’ मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालले भने, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरेका छौं । ’
मोरङ प्रहरीका अनुसार ती युवतीको वास्तविक नाम अर्कै हो ।
प्रहरीका अनुसार अस्पताल भर्ना गर्ने बेलामा नै युवतीको वास्तविक नाम राखेका थिएनन् । अस्पतालको पर्चीमा लेखिएको फूलकुमारी तामाङ उनको वास्तविक नाम होइन ।
फूलकुमारीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कर्ण बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन् ।
चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले दुबै अभियुक्तलाई सँगै राखेर बयान लिएपछि सबै कुरा खुल्ने बताएको छ ।