आइतबारदेखी सम्पर्क विहिन भएका सेनाका गुल्मपति पण्डितको अवस्था अज्ञात
काठमाडाैं । नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डितको दुई दिनदेखि अवस्था अज्ञात रहेको छ । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डितको अवस्था अझै अज्ञात रहेको हो ।
आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका उनी करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका र त्यसपछि भने सम्पर्कविहीन बनेका डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।
उनी हराएको जानकारी पाउँनसाथ खोजिकार्य जारी नै राखेको भएपनि उनको अवस्था अज्ञात रहेको प्रजिअ पोखरेलले बताए । अहिलेसम्म सम्पर्क हुन नसकेकाे र के कति कारणले उनी सम्पर्कविहीन भए भन्ने पनि जानकारी पाउन नसकिएको उनको भनाइ छ ।
साे दिन इभिनिङका लागि सेनाको टोली निस्किएको र उनले पीएसओलाई पनि फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोटतिर लागेको बुझिएको भए पनि उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रजिअ पोखरेलको भनाइ छ ।
खोजतलासका लागि नेपाली सेना र नेपाल प्रहरीले सोमबारदेखि निरन्तर प्रयास गरिरहेको छ ।