स्वास्थ्य

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

रुघाखोकी/निमोनिया भएका बच्चालाई आमाको दूध धेरैपटक खुवाउनुपर्छ, निमोनिया: निमोनियारोग ५ वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण हो । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँछ । नेपालमा पनि बर्सेनि करिब ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

परिचय: निमोनिया फोक्सोमा हुने शीघ्र संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने गर्छ । यसका कारण बच्चाले छिटो–छिटो सास फेर्ने र छटपटाउने गर्छ ।

फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राणवायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई शरीरबाट बाहिर निष्कासन गर्छ ।

जब फोक्सोमा सुजन हुन्छ, तब यो कार्य नराम्ररी प्रभावित हुन्छ । फलस्वरूप बिरामीको मृत्यसमेत हुने गर्छ । निमोनिया विश्वमै बालमृत्युको प्रमुख कारण हो । तर, निमोनियाबाट बालबालिका लागि सुरक्षित राख्न सकिन्छ । यो रोकथाम गर्न सकिने रोग हो र रोग लागेपछि पनि सस्तो र सरल प्रविधिबाट यसको उपचार गर्न सकिन्छ ।

कारण:
निमोनिया विभिन्न सूक्ष्म जीवाणु, कीटाणु र विषाणुबाट हुने गर्छ, जुन यसप्रकार छन्:-
क) स्टे«प्टोकोकस निमोनिया– प्रमुख कारण
ख) इमोफिलस इन्फ्लुएन्जा– बी दोस्रो कारण
ग) श्वासनलीमा लाग्ने अन्य जीवाणु, कीटाणु र विषाणुहरू
घ) एचआइभी संक्रमित अवस्थामा न्युमोसिस्टिस जिरोभेसी प्रमुख कारक हुने गर्छ ।

सर्ने तरिका: निमोनिया विभिन्न तरिकाबाट सर्छ । जीवाणु र विषाणुहरू बालबालिकाको नाक र घाँटीमा प्राय: रहेका हुन्छन् । तर, फोक्सोभित्र गएमा यसले संक्रमण गर्न सक्छ । यो खोक्दा, हाच्छियूँ गर्दा हावामा उडेका स–साना छिटाहरूबाट पनि सर्न सक्छ । यसका अतिरिक्त, नवजात शिशुमा जन्मनेवेलामा वा त्यसपछिको छोटो समयमा रगतबाट पनि सर्न सक्छ ।

लक्षण: सुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गएर छिटो–छिटो सास फेर्ने वा सास फेर्न गा-हो हुन्छ । ज्वरो आउँछ (१०२ फरेनहाइटभन्दा माथि) । कोखा हान्नेजस्ता लक्षण र चिह्नहरू देखापर्दछन् । कडा निमोनिया भएमा बच्चा खान–पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ । कसै–कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ ।

जोखिमका कारण: जसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम छ, तिनीहरूमा निमोनियाको जोखिम बढी हुने गर्छ । खास गरेर कम पोषित, कुपोषित शिशुहरू, जसले पूर्ण स्तनपान गरेका छैनन्, उनीहरू जोखिममा रहन्छन् ।
खराब वातावरण र सरसफाइ अभावले निमोनिया बढाउँछ । गोबर, दाउराले खाना बनाउँदा उत्पन्न हुने धुवाँ र खारले घरभित्रको हावालाई दूषित गर्छ, जसले निमोनियालाई सहयोग पुर्याउँछ । भिडभाड गरी सानो ठाउँमा बस्दा त्यस ठाउँको हावा दूषित हुने भएकाले जोखिम बढ्छ । अभिभावकले वा अन्य व्यक्तिले गर्ने धूमपानले बालबालिकामा जोखिम बढाउँछ ।

उपचार: निमोनियाको उपचार सस्तो र सुरक्षित एन्टिबायोटिक र सरल प्रविधिले गर्न सकिन्छ । यसको औषधि घरैमा बसेर सेवन गर्न सकिन्छ ।

सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, समुदायस्तरका स्वास्थ्यसंस्था, स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यसंस्थाहरूबाट यसको उपचार निःशुल्क गरिन्छ । विशेषगरी नवजात शिशु र कडा निमोनियाका बिरामीले मात्र अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने हुन्छ ।

रोकथाम: पूरा मात्रामा खोप लगाएमा निमोनियाबाट बच्न सकिन्छ । खोप प्रभावकारी छ र यो निमोनिया रोकथाम गर्ने अभिन्न रणनीति पनि हो । नेपालमा हेमोफिलस इन्फ्लुएन्जा–बी, दादुरा र लहरेखोकी (हुपिङ कफ)को खोप नियमित खोप कार्यक्रममा समावेश गरिएको छ, जुन निमोनिया रोकथामका लागि प्रभावकारी छ । पर्याप्त पोषिलो खानाले बालबालिकाको शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

जन्मेको १ घण्टाभित्रै नवजात शिशुलाई स्तनपान गराई ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा शिशुको पोषण राम्रो हुन्छ र निमोनियाको रोकथाममा मद्दत पुग्दछ । ६ महिनापछि बच्चालाई आमाको दूधका साथै पोषिलो खाना पटक–पटक खुवाउनुपर्छ । यदि निमोनिया भइहालेमा पनि पोषिलो खाना खाएका बालबालिका छिट्टै स्वास्थ हुन सक्छन् । वातावरणीय सुरक्षा, खासगरी घरभित्र हुने धुवाँ, धुलोबाट बच्ने र सरसफाइमा ध्यान दिनुपर्छ । खाना बनाउनुअघि र खानुअघि, दिसा तथा फोहोर छोएपछि हात हुने गर्नुपर्छ ।

नवजात शिशुलाई छुँदा साबुन–पानीले हात धोएर मात्र छुने गर्नाले निमोनिया र अन्य संक्रमणबाट बच्न मद्दत पुग्छ । एचआइभी संक्रमित बालबालिकाले स्वास्थ्यकर्मीको सल्लाह लिई एन्टिबायोटिक (कोट्रिम) दैनिक खानाले निमोनिया हुनबाट बचाउँछ । स्वस्थ बच्चा आफ्नै शरीरको रोगप्रतिरोधात्मक क्षमताबाट निमोनियाविरुद्ध सुरक्षित हुन सक्छन् । यदि रोग प्रतिरोधात्मक क्षमता कम भएमा निमोनियाको जोखिम बढ्छ ।

उपचारका लागि स्वास्थ्यसंस्था लैजानुपर्ने अवस्था: बच्चाले छिटो–छिटो (१ मिनेटमा ५० पटकभन्दा बढी सास फेरेमा । बच्चाको कोखा हानेमा, बच्चाले झोल कुरा वा अन्य खानेकुरा खान नसकेमा, बच्चाले आमाको दूध चुस्न नसकेमा । २ महिनामुनिका बच्चालाई ज्वरो आएमा वा हात–खुट्टा शीतांग भएमा, बच्चा ज्यादै कुपोषित भएका ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button