रोचक

हामी किन मर्छौँ ? के अमरत्व सम्भव छ ?

समुद्र र नदीमा पाइने ‘हाइड्रा’ रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो। प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो।

यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ।

सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो सानो र लामो शरीर अनि एकातर्फ कैयौँ टेन्टकल भएको उक्त जीवमा हेर्नुपर्ने अरू धेरै कुरा छैनन्। तर जीवविज्ञानमा यसको एउटा विशिष्ट विशेषता छ किनभने यो पुनः जीवित हुन सक्छ।

यदि तपाईँले एउटा हाइड्रालाई धेरै वटा टुक्रामा काटिदिनुभयो भने प्रत्येक टुक्रा एउटा अलग्गै जीवको रूपमा फेरि हुर्कन्छ।

यही विशेषताका कारण प्रकृतिमा अमरत्वको प्रमाणको खोजी गरिरहेका वैज्ञानिकहरूमाझ उक्त जीवलाई लिएर कौतूहल पाइन्छ। यी जीवहरू प्राकृतिक कारणले किन मर्दैनन् ? अनि के मृत्यु अवश्यम्भावी छ ?

के जीवन र मृत्यु लेनदेन हो ?

बीसौँ शताब्दीको मध्यतिर उमेर ढल्किनुलाई प्रजनन र कोष व्यवस्थापनबीचको लेनदेनका रूपमा व्याख्या गरिएको थियो। प्रारम्भिक अवस्थामा हाम्रो शरीरले आफूलाई हुर्काउन र स्वस्थ राख्न आफ्ना कोष प्रयोग गर्छ।

बाल्यकालदेखि किशोरावस्थासम्म सकेसम्म बलियो र स्वस्थ रहन जोड रहन्छ। परिपक्व यौन क्षमता विकास भएपछि प्राथमिकता प्रजननमा हुन्छ। किनभने अधिकांश जीवहरूको स्रोत सीमित हुन्छ र सन्तान उत्पादनलाई प्राथमिकता दिने कुरा आफू स्वस्थ रहने कुराभन्दा माथि पनि रहन सक्छ।

उदाहरणका लागि सामन माछालाई हेर्नुहोस्। अण्डा पार्न तटको माथिल्लो भागतिर पौडिने उक्त माछा त्यसलगत्तै मर्छ। अण्डा पार्ने ठाउँसम्म ऊ सहजै पुग्छ र त्यहाँ हुँदा उसले उक्त अवसरलाई यथोचित प्रयोग गर्छ।

तर सामन माछा तलको किनारातर्फ फर्किने र समुद्रमा फेरि अर्को वर्ष जीवित रहने अनि सन्तान जन्माउन त्यही किसिमको यात्रा सफलतापूर्वक गर्ने सम्भावना ज्यादै न्यून हुन्छ।

प्राकृतिक छनोटले पनि तिनलाई यस्तो अवसर कहिल्यै दिँदैन। तर जे भए पनि उनीहरूले आफ्नो अनुवंश एकचोटि सफलतापूर्वक हस्तान्तरण गर्छन्। तर हामी किन मर्छौँ भन्ने अहिलेको हाम्रो बुझाइ अझ विशिष्ट छ।

परिपक्व यौन क्षमता विकास गरेपछि कुनै पनि जीवको प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ र बुढ्यौलीको प्रक्रिया आरम्भ हुन्छ। त्यसले अन्ततः मृत्युसम्म पुर्याउँछ।

तर त्यो ‘परोपकारी जस्तो देखिने कोण’ भावी पुस्ताका लागि बाटो खोलिदिन भने नभएको यूनिभर्सिटी अफ इस्ट एङ्लिया यूकेका क्रमविकास विज्ञान तथा बायोजेरन्टोलजीका प्राध्यापक एलेक्सेइ माक्लाकोभ बताउँछन्।

प्राकृतिक छनोट र मृत्यु

हामी जीवित भएको समयमा हाम्रा जीनहरूमा म्यूटेशन अर्थात् उत्परिवर्तनहरू हुन्छन्। कतिपय आफैँ हुन्छन् र अरू कतिपय हाम्रो भोजन वा अरू बाह्य कारणले (जस्तै पराबैजनी किरणका कारणले) पनि हुन्छन्।

धेरैले केही प्रभाव पार्दैनन् वा ती घातक हुँदैनन् तर थोरै मात्रै उपयोगी हुन्छन्।

यौनका लागि परिपक्व हुने उमेरअघि कुनै पनि आनुवंशिक उत्परिवर्तन जसले जीवको प्रजननको सम्भावना कमजोर बनाउँछ वा सो जीवलाई प्रजननअघि नै ज्यान लिन सक्छ त्यसलाई बलियो रूपमा शरीरले अस्वीकार गरिदिने यूनिभर्सिटी अफ अक्सफर्डकी क्रमविकास जीववैज्ञानिक गाब्रिएला कोउन्टोरिड्स बताउँछिन्।

कुनै पनि जीव यौनिक रूपमा परिपक्व भइसकेपछि उसले आफ्नो वंशाणु अर्को पुस्तामा हस्तान्तरण गर्न सक्छ। त्यसपछि प्राकृतिक छनोटको शक्ति कमजोर हुन्छ।

फेरि अण्डा पारिरहेको सामन माछातिरै फर्कौँ। वयस्क हुँदासम्म उसले सबै राम्रो गरिरहेको हुन्छ र प्रजनन पनि अघि बढाएको हुन्छ। उसका सन्ततिले पनि त्यसरी नै सन्तान जन्माउने प्रबल सम्भावना हुन्छ।

तर यदि अण्डा पारिसकेपछि भएको आनुवंशिक उत्परिवर्तनका कारण सामन माछाको आयु बढ्यो र ऊ अर्को वर्ष पनि बाँच्यो भने (जसको सम्भावना एकदमै कम छ) उसका सन्ततिलाई आफ्ना माउका अरू सन्तानभन्दा बढी कुनै विशेष लाभ हुँदैन।

सामन माछाको एउटा पुस्ता कुनै उत्परिवर्तनबिना त्यहाँ त्यत्तिकै रहन्छ। प्राकृतिक छनोटको दृष्टिकोणबाट हेर्दा प्रजननपछि पनि स्वस्थ बन्ने प्रयास जारी राख्दा त्यसका केही फाइदा छन्।

परिणामस्वरूप कुनै अनुवंश छनोटको दबावमा नपर्न सक्छन्। तर सबै जीवहरू सामन माछाजत्तिकै अप्ठ्यारा खालका पनि छैनन्। कतिपय अझ धेरै सन्तान जन्माउनलाई केही लामो समय बाँच्छन्। हाम्रो डीएनएमा हुने अधिकांश उत्परिवर्तनको नकारात्मक वा कुनै प्रभाव नै पर्दैन।

हाम्रो शरीरले केही डीएनए क्षतिलाई मर्मत गर्न सक्छ तर उमेरअनुसार प्राकृतिक छनोटले त्यसको लागि चाहिने सामर्थ्य घटाइदिन्छ।

तर बुढ्यौली र मृत्यु दुई तरिकाले हुन्छन्। एउटा कमजोर छनोट प्रणालीका कारण हुने नकारात्मक उत्परिवर्तन र अर्को प्रजननका लागि लाभदायी हुन सक्ने उत्परिवर्तन जुन दीर्घजीवनका लागि नकारात्मक बन्न सक्छ।

के मृत्यु र यौनको सम्बन्ध छ ?

कतिपय प्रजातिहरू उमेरअनुसार अझ सफल हुने गरेका संकेतहरू रहे पनि माक्लाकोभ त्यसको प्रमाण त्यति ठोस नरहेको बताउँछन्।

एउटै भालेबाट गर्भधारण गर्ने प्रजातिहरू जस्तै वालरस र मृगमा यसको उदाहरण पाउन सकिन्छ। तिनमा एउटा भालेले पोथीहरूको समूहमाथि नै नियन्त्रण कायम गर्ने गर्छ।

त्यो समूहको आकार र भालेका सन्तानहरूको संख्या उसको उमेर र शरीरको आकारसँगसँगै बढ्दै जान सक्छ। त्यही भएर उसको प्रजनन क्षमता बढ्दै जान्छ।

केही प्रजातिहरूले उमेरसँगै आफ्नो प्रजनन क्षमता कायम राख्न सक्ने कुरा सत्य हो।

तर ती नेगटिभ सिनसन्सका वास्तविक उदाहरण नभएको र अध्ययनहरूले तिनमा त्रुटि रहेको देखाएको माक्लाकोभ बताउँछन्।

उदाहरणका लागि, भाले वालरसले पोथीहरूको समूहलाई सधैँभरि नियन्त्रणमा राख्न सक्दैन। तर हामीलाई कसरी बुढ्यौलीले छुन्छ भन्ने कुरामा यौनको भूमिका हुन सक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button