समाचार

तीनकुने गैह्रीगाउँमा चारजनाकाे हत्या घटनामा एक व्यक्ति पक्राउ

तीनकुने गैह्रीगाउँमा चार जनाकाे हत्या घटनामा संलग्न रहेकाे आशङ्कामा एक जना पक्राउ परेका छन् । प्रहरीले २८ वर्षे दीपेन्द्र राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे हाे ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, रक्सीले मातेका राई कपडामा रगत लतपतिएकाे अवस्थामा फेला परेका थिए । प्रहरीले अहिले उनीमाथि सोधपुछ गरिरहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार, गएराति धारिलो हतियार प्रहार भएको अवस्थामा तीनकुनेकाे गैह्रीगाउँमा चार जनाको शव फेला परेको थियाे ।

हत्या हुनेमा दोलखाका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी शुभद्र बाइवा, कुमारकी आमा अन्दाजी ७० वर्षीया सुमित्रा भुजेल छन् र मोरङका १९ वर्षीय नवीन राई रहेको मैनालीले बताए । यीमध्ये तीन जना एकै परिवारका हुन् । उनीहरू तीनकुनेकै दिव्य स:मिलमा काम गर्थे । घटना मिलभित्रै भएकाे हाे ।

घटना के कारणले भयाे भन्नेबारे खुलिसकेकाे छैन । अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button