समाचार

संरक्षण केन्द्रभित्र मृत भेटिएकी गीतालाई श्रीमान्‌को बारम्बार म्यासेज- तँ र तेरो छोरालाई पनि मारिदिन्छु

कालीकोटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाकी २५ वर्षीया गीताकुमारी जैसी शाहीको झुण्डिएको अवस्थामा शव फेला परेको कालीकोट प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले शिलापत्रलाई जानकारी दिए ।

परिवारले सुरक्षाका कारण लिन नमानेपछि गीतालाई संरक्षण र मनोसामाजिक परामर्शका लागि सोसेक नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित महिला र बालबालिका केन्द्रमा राखिएको थियो । तर, गीता आइतबार बिहान शौचालयको ढोकामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । केन्द्रमा राखिएको केही दिनमै उनको मृत्यु भएपछि घटनालाई शंकास्पद मानिएको छ ।

‘उहाँ गत भदौ २२ गते बेपत्ता हुनुभयो भनेर आफन्त आन्दोलित हुनुभएको थियो । पछि सम्पर्कमा आएपछि सुरक्षाको कारण देखाउँदै आफन्तले उहाँलाई लिन नमानेपछि हामीले संरक्षण र मनोपरामर्शका लागि सोसेक नामक संस्थामा राखेका थियौँ,’ डीएसपी केसीले भने, ‘त्यही क्रममा आज बिहान सवा ९ बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको खबर हामीलाई आयो ।’

शव घटनास्थलमै रहेको र आफन्त आएपछि पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै हत्या वा आत्महत्या के हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी केसीले शिलापत्रलाई जानकारी दिए । आफन्तहरूले भने संरक्षणमा राखिएकी गीताको हत्या भएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि पारिवारिक झमेलामा थिइन् गीता

सान्नीत्रिवेणी गाउँपालिका– १, लुसाका ५५ वर्षीय धनीराम जैसी (गीताका बुवा) को तीन वर्षअघि २८ भदौ २०७७ मा मृत्यु भयो । घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भिरबाट खसेका थिए । आफन्त र प्रहरीले यो घटनालाई दुर्घटनाका रूपमा लिए ।

तर, ९ भदौ २०८० मा जैसीको मृत्युको कारण दुर्घटना नभएर भिरबाट धकेलेर मारेको भन्ने खुल्यो । दैलेखको भगवतीमाई गाउँपालिका- ५, कट्टीका स्थानीय दानबहादुर शाहीले गीतासँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए ।

माइती पक्षले आफ्नी छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरे । तर, छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक हिंसा दिन सुरु गरे । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए ।

हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि भने उनका बुवाको मृत्युको कारण खुल्न पुग्यो ।

एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नी कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा) लाई जस्तै केटाहरू प्रयोग गरेर आमा-छोराको पनि हत्या गर्ने धम्की दिन थालेका थिए । म्यासेन्जरमा वकिल, न्यायाधीशलाई आफूले किनेको, पैसा भएमा सबै थोक हुने भन्दै गीता र छोराको पनि त्यही अवस्था बनाइदिने लेखिएको छ ।

‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ, पछि हट्दिनँ,’ गीतालाई पठाएको म्यासेजमा उनले भनेका छन्, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौ, म पनि हेर्छु ।’ बारम्बार श्रीमान्‌ले म्यासेन्जरमार्फत दिएको धम्कीसहित उजुरी लिएर गीता जिल्ला प्रहरी कार्यालय कालीकोट पुगिन् । प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले ९ भदौमा कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराए । प्रहरीले उनलाई १० भदौमा पक्राउ गर्‍यो ।

प्रहरीले दानबहादुरलाई पक्राउ गरेसँगै उनकी कान्छी श्रीमती गीता र छोरा २० भदौमा कोठाबाट हराएका थिए । उनीहरू हराएको तीन दिनपछि नेपालगन्जमा भेटिएका थिए । त्यसबेला गीताका आफन्तले दानबहादुरले नै आमा-छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका थिए ।

गीता बेपत्ता भएपछि आफन्तले दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै २२ भदौ दिनभर जिल्ला प्रहरी कार्यालय कालीकोटमा धर्नासमेत दिएका थिए । गीताको जिल्ला अदालत कालीकोटमा सम्बन्धविच्छेद र अंशवण्डाको मुद्दा चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button