दशैंमा कुन मासुको कस्ता परिकार ? (भिडियो रिपोर्ट)
काठमाडौं ।
नेपालीहरुको महान चाड बडादशैं आइसकेको छ । कोरोना महामारीको बिच पनि दशैं नजिकिएसँगै बजारमा पनि चहलपहल बढ्दै गएको छ । बडादशैं नेपालीहरुको खुशी र उमंगको पर्व हो । बाहै महिना चलहलपहल हुने काठमाडौं दशैंमा भने सुनसान हुने गरेको छ ।
दशैं लागेपछि गाउँदेखि शहर, केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैलाई नै दशैंको रौनक छाउने गर्दछ । सरकारी कार्यालय र निजी कम्पनीहरुमा समेत धेरै दिनसम्म विदा हुने हुँदा सहरबाट गाउँ जाने र गाउँको मनमोहक प्राकृतिक वातावरण, आफन्तजनहरुसँगै बसेर खुसी साटासाट गर्ने र ठूलावडाबाट आर्शिबाद लिएर खुसी मनाउने हो दशैं । तर विगतका वर्षको जस्तो कोरोना भाइरसको कारणले गर्दा यो वर्षको दशैं त्यति रमाइलो नहुने देखिएको छ । किनकी विदेशमा हुने र सहरमा हुने समेत गाउँ जाने अवस्था छैन ।
दशैंमा घर परिवारका सबै सदस्यहरु जम्मा भएर खुसी मनाउँदै तथा एक आपसमा रमाइलो गर्दै मीठो मसिनो खाएर मनाउने गरिन्छ । विशेष गरेर, दशैंमा हुँदा खाने र हुने खाने दुवै वर्गका भान्सामा मासु पाक्ने गर्दछ । अन्य समयमा भन्दा दशैंको बेलामा मासुको खपत पनि बढी नै हुने गरेको छ । दशैंमा मानिसहरुले सबै किसिमका मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमा खाने गर्दछन् ।
यसरी हेर्दा दशैं र मासु एकै सिक्काका दुई पाटा जस्तै देखिएका छन् । अर्को तर्फ दशैं र मासु एक अर्काका परिपुरक पनि रहेको छ । सहर होस् वा गाउँ सबैतिर दशैं लाग्ने वितिकै मासुको जोहो गर्न लाग्ने गर्दछन् । अझ गाउँघरमा त दशैंमा मासुको लागि खसी खानेहरुले खसी, राँगाको मासु खानेहरुले राँगा, बङगुर खानेहरुले बङगुर घरमा नै पालेर खाने गरेका छन् । यता सहरहरुमा भने नागरिकहरुलाई मासुको लागि कतै भौतारिनु नपरोस भनेर सरकारले नै खसीबोका र च्याङग्रा वर्षैपिच्छे ल्याएर बेच्ने गरेको छ ।
दशैं लाग्नु भन्दा अगाडिदेखि नै शाकाहारीहरुले मासुको सट्टा के खाने र माँसाहारीले मासुका कस्ता कस्ता परिकारहरु खाने भनेर योजना बनाउने गर्दछन् । मासुका धेरै परिकार बनाउने खाने गरेता पनि शाकाहारी र मांसाहारीले कस्ता परिकारको प्रयोग गर्ने, कसरी बनाउने जस्ता विषयमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले दसैंमा प्रयोग गरिने मासुको परिकारको विषयमा हामीले जानकारी समेटिएका छौं ।
मानिसको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि मासुको जाँच गरी, सफा मासु मात्र खानु राम्रो हुन्छ । माछा, मासु, तरकारी, फलफूलका आआफ्नै विशेषता रहेकाले चाडबाडका बेला हरियो सागसब्जी, सलादसँगै हरेक वस्तुको मात्रा मिलाएर खानु स्वास्थ्यको लागि फाइदाजनक रहेको छ ।
आफ्नै घरमा खसी, बोका, राँगा, च्याङग्रा, आदि काटेर मासु खाने गरिन्छ । विशेषगरी फूलपाती र महाष्टमीको दिन वली दिने चलन छ । यसरी वली दिएको मासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने प्रचलन छ ।
दशैंका लागि मात्र नेपालमा वार्षिक ५० करोड रुयैयाँ बराबरको खसी आयात हुने गरेको नेपाल पशुपालन ट्रेडर्स एसोसियसनले जनाएको छ । स्वदेशी उत्पादनले देशको मागको १० देखि १५ प्रतिशत मात्र पूर्ति गर्न सक्छ भने बाँकी भारत, चीनबाट आयात हुने गरेको छ । पशुपंक्षी सेवा विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक तीन लाख ३४ हजार टन मासु स्वदेशमै उत्पादन हुने गरेको छ ।
अन्य समयको भन्दा दशैंमा धेरै मासु खपत हुने गरेको छ । यसमा पनि नेपालमा विभिन्न थरीका मासु मन पराउने जमात रहेको छ । जसमा कसैले खसीबोका, कसैले राँगा भंैसी, कसैले कुखुरा, हाँस्, बँदेल र बंगुर, टर्कीको मासु मनपराउने गरेका छन् । तर पनि नेपालमा सबैभन्दा बढी खपत हुने भनेको खसी, कुखुरा, राँगाभैंसी, बँदेल र बंगुरको मासु रहेको छ ।
खसीबोका, च्यांग्राको मासु
नेपालमा दशैंको समयमा अन्य मासुको तुलनामा खसी बोकाको मासु बढी उपभोग हुने गरेको छ । खसीको मासु नै दशैंमा सबैभन्दा धेरैको रोजाइमा पर्ने गर्छ । अहिले नेपाली बजारमा खसीको मासुको बजार मूल्य प्रति केजी १३ सयसम्म पर्ने गरेको छ । अन्य मासुको भन्दा बढी मूल्य पनि खसीको मासुको मुल्य नै महँगो रहेको छ । काठमाडौं उपत्यकामा बस्ने बाहिरी जिल्ला घर भएका करिब ६० प्रतिशत मानिस अधिकांश दशैंका लागि जन्मथलो गाउँघर फर्किने भएकाले उपत्यकाका बाहिरी जिल्लामा पनि दशैंमा मासुको खपत बढ्ने गरेको खाद्य संस्थानले जनाएको छ ।
नेपालमा उत्यादित खसीबोकाले नपुगेर भारतीय खसी पनि आयात हुने गरेको छ । दशैंमा काठमाडौं उपत्यकामा खसी बोका भन्दा च्यांग्रा बढी बिक्री हुने गरेका छन् । काठमाडौं उपत्यकामा खसीबोकासँगै च्यांग्राको मासुको खपत पनि बढेको छ । खसीको मासुमा धेरै मानिसको शरिरको लागि आवश्यक तत्व पाइन्छ । खसीको मासुमा प्रोटिन, पोटासियम, आइरन, भिटामिन ए, सि, डि, बि ६, १२, क्याल्सियम, म्याग्नेसियम र १० प्रतिशत फ्याट र १९ प्रतिशत कोलेस्ट्रोल पनि पाइन्छ ।
खसीको मासुको परिकार
१.मासुको झोल
२.भुटन
४.फोक्सोको परिकार
५. खसीको पक्कु
६.मटन सेकुवा
७.मटन कवाफ
८.नेपाली मटन
९.कवाफ
१०.मटन थेबे
११.मटन कचौल
१२.मटन तास
कुखुरा, हाँस र टर्कीको मासु
काठमाडौं उपत्यका लगायत देशैभर कुखुराको मासुको खपत धेरै हुने गरको छ । तर कुखुराको मासुको सबैभन्दा ठूलो बजार रहेको काठमाडौं उपत्यकामा भने दशैंमा धेरै मानिसहरुले उपत्यका छोड्ने र काठमाडौंबासीले खसी नै बढी खाने भएकाले खासै व्यापार नबढ्ने व्यवसायीहरुले बताएका छन् ।
अन्य समयमा काठमाडौं उपत्यकामा कुखुराको मासु धेरै खपत हुने गरेको छ । कुखुराको मासु धेरैले मन पराउने भए पनि दशैंमा चाँही कुखुराको मासु भन्दा खसीको मासु नै खाने गरेका छन् । त्यस्तै पछिल्लो समय कुखुराको मासु भन्दा पनि हाँसको मासु मन पराउने पनि बढ्दै गएका छन् । मासु व्यवसायीहरुका अनुसार दशैंको समयमा कुखुराको भन्दा पनि हाँसको मासुको माग बढ्ने गरेको छ । दशैंमा काठमाडौं उपत्यकामा पूजा गर्न वा मन्दिरमा चढाउनको लागि हाँसको माग बढ्ने भएको छ । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा समेत हाँसको मासुको परिकार बन्ने र माग पनि आउन थालेकाले हाँसको बिक्रि पनि बढेको पोल्ट्री व्यवसायी संघका अध्यक्ष जगत बहादुर जिसीले बताए ।
उनका अनुसार अहिले लोकल कुखुराको उत्पादन घट्दै गएकाले पनि बोइलर कुखुरा र हाँसले पनि बजार लिन थालेको छ । त्यस्तै, पछिल्लो समय धेरैले मन पराउन थालेको अर्को परिकार हो टर्कीको मासु । यसको अण्डा र मासु दुबै स्वास्थ्यका लागि फाइदाजनक रहेको छ । त्यसैले पनि यसको माग बढ्दै गएको देखिन्छ ।
त्यस्तै, कुखुरा र टर्कीको मासुमा फ्याटको मात्रा रातो मासु भन्दा कम हुन्छ । मासु रातो र सेतो यसमा भएका मायाग्लोबिन नामक कोशिकाले निर्धारण गर्छ । सेतो मासुको तुलनामा रातो मासुमा फ्याट बढी भएसँगै यसमा प्रोटिन, भिटामिन र अन्य तत्व पनि बढि पाइन्छ ।
चिकेनको विभिन्न परिकारहरु
१.चिकेन फ्राई
२.चिकेन पाङ्ग्रा
३.चिकेन करी
४.दम चिकेन
५.चिकेन टिक्का
६.होल चिकेन
७.चिकेन डन्डी
८.बारबिक्यु
९ ससेज, आदि परिकारहरु बनाउने गरिन्छ ।
राँगा र भैंसीको मासु
दशैंमा धेरैले मन पराउने मासु राँगा र भैंसीको पनि एक हो । राँगा र भैंसीको मासु पनि सामान्य समयको भन्दा दशैंमा धेरै नै खपत हुने गरेको छ । विभिन्न समुदायले राँगो मासु मात्रै पनि खाने गरेका छन् । राँगा भैंसीको मासु रातो मासुको रुपमा चिनिन्छ । यसले गर्दा पनि पहिले निश्चित समुदाय वा मानिसहरुले मात्रै प्रयोग गर्ने भए पनि विगतमा भन्दा अहिले अन्य समुदाय वा मानिसहरुले पनि राँगा भैंसीको मासु उपभोग गर्न थालेका छन् । त्यसैले पनि यसको खपत बढ्ने गरेको छ । राँगा भैसीको मासुको पनि विभिन्न परिकारहरु बनाउने गर्दछन् । जस अनुसार निम्न रहेका छन् :
१. कचिला
२. सेकुवा
३.सुकुटी
४.छोइला
५.सपु म्हिचा
६.भुटन
७.ससेज आदि
बंगुरको मासु
खसी, कुखुरा, राँगा भैंसीको मासुसँगै विगतका वर्षहरुदेखि दशैंमा बंगुरको मासु पनि प्रचलनमा आएको छ । बंगुरको मासुमा बोसो प्रशस्त पाइन्छ यो मासु पनि खाने गरिन्छ । बँदेल तथा बंगुर प्रायः कैलो, कालो, सेतो, रेसाविहिन रहेका हुन्छन् । बजारमा बंगुरको मासुको माग बढ्दै गएकाले पनि नेपालमा अहिले बंगुर पालना व्यवसाय पनि फस्टाउँदै गएको छ । योसँगै बँदेलको मासु उपभोग गर्नेको संख्यामा पनि वृद्धि हुदै गएको छ । अझ अहिले बजारमा पाउने धराने कालो बंगुरको मासुले पनि बजार लिएको छ । बँदेल र बंगुरको मासु सेतो रङको हुने भएकोले स्वास्थ्यका लागि पनि खासै बेफाइदा नगर्ने हुँदा रोजाइमा पर्ने गरेको छ । बंगुरको मासुको पनि विभिन्न परिकारहरु बनाउन सकिन्छ ।