समाचार

आफैं भ्रममा परेका कोअर्डिनेटरको पछि लाग्दा फिफियामा डुबे एक स्कुलका सबै शिक्षक

काठमाडौं । सम्राट महत (नाम परिवर्तन) काठमाडौंको नाम चलेको स्कुलका कोअर्डिनेटर हुन् । १२ कक्षासम्म अध्यापन गराउने सो स्कुलमा १५-२० जना शिक्षक शिक्षिका अध्यापनरत छन् ।

उनै महतले करिब तीन महिनाअघि अतिरिक्त आम्दानी कसरी गर्न सकिन्छ भन्ने विषयमा खोज्न थाले । “मलाई स्कुलबाट हुने आम्दानी अपुग भएको त होइन, तर आफूसँग भएको रकम कहाँ लगानी गर्दा उपयुक्त होला भन्ने उपाय खोजिरहेको थिएँ,” सुरुवाती दिन सम्झिंदै महतले भने, “युट्युबमा अनलाइनबाट कसरी आम्दानी गर्न सकिन्छ भन्नेबारे खोज्दा फिफियाको नाम भेटियो ।”

उनले युट्युबको भिडिओमा भएको लिङ्क प्रयोग गरी अकाउन्ट बनाए । त्यही भिडिओ हेरेर रकम बाजीमा राख्न थाले । केही दिन सुरुवातमा आएको ३०० रुपैयाँमा बेट गरेका उनले विस्तारै रकम बढाउँदै जान थाले ।

त्यसो त दिनमा तीन पटक बेट गर्दा प्रत्येक पटक ०.४८ प्रतिशत नाफा आउने थाहा पाएपछि उनलाई सो प्लेटफर्ममाथि शंका नलागेको होइन । तर, उनी टेलिग्राम च्यानलमा जोडिएपछि भने ढुक्क भए ।

“पहिले त हामीले लगानी गरेकै भरमा कसरी रकम आउँछ होला भन्ने लागेको थियो । एजेन्टहरूले फिफियाले विभिन्न अन्तर्राष्ट्रिय खेलको प्रचार गरे बापतत आम्दानी गर्छ र त्यहींबाट आएको रकम बेट (लगानी) गर्नेहरूलाई दिन्छ भनेर विश्वस्त बनाए,” उनले भने ।

त्यसबाहेक पनि उनले टेलिग्राम च्यानलमार्फत सो कम्पनी नेपालमा औपचारिक रूपमा दर्ता भइसकेको खबर पाएपछि ढुक्क भए । उनलाई आश्वस्त पार्न त्यहाँ भएका कम्पनी रजिस्ट्रार कार्यालयबाट प्राप्त कागजातहरू पर्याप्त थिए ।

यति भएपछि उनले आफूले बैंकमा राखेको रकम निकालेर समेत फिफियामा लगानी गरे । महतले सो प्लेटफर्ममा लगानी गरेको देखेपछि केही एजेन्टले उनलाई अरू व्यक्तिलाई पनि सो प्लेटफर्ममा जोड्न सुझाव दिए ।

“यसमा मैले आफ्नो प्रोमोकोड दिएर अरूलाई अकाउन्ट बनाउन दियो भने पाँच प्रतिशत कमिसन आउँछ भनिएको थियो । त्यसैले म यसमा कोको उपयुक्त हुन सक्छन् भनेर खोज्न थालेँ,” उनले सुनाए ।

आफू स्कुलको कोअर्डिनेटर भएर पनि होला उनले आफ्नो मातहतमा भएका प्रायः सबै शिक्षकलाई राखेर त्यसरी आम्दानी गर्न सकिन्छ भन्ने उपाय सुझाए । कोअर्डिनेरले नै भनेपछि अन्य शिक्षक कर्मचारीले विश्वास नगर्ने कुरा थिएन ।

यता आफ्नो प्रोमोकोड दिएपछि सो व्यक्तिले विभिन्न अफर पाउँछ भन्ने कुराले पनि आफू लोभिएको महत बताउँछन् । विशेषगरी फिफियाको टिमले कुनै पनि व्यक्तिले कसरी बेटिङ गरिरहेको छ अनि कति मान्छे बनाएको छ भन्ने आधारमा विभिन्न आन्तरिक मिटिङ तथा नेपालमा भएको कार्यालय समेत देखाउने भनेपछि महतले आफ्नो नजिकका शिक्षकहरूलाई सो प्लेटफर्मको बारेमा जानकारी दिएका थिए ।

उनको कुरा सुनेपछि पन्च कठायत (नाम परिवर्तन) रकम लगानी गर्न उत्साहित भए । सोही स्कुलमा सात कक्षासम्म अङ्ग्रेजी पढाउने उनी पनि अतिरिक्त आम्दानीका लागि भौतारिरहेका थिए ।

“हामीलाई त महत सरले यस्तो प्लेटफर्म छ राम्रो आम्दानी हुन्छ भन्नुभयो,” कठायत भन्छन्, “एक हप्ता जति ३०० रुपैयाँमै खेलें । आम्दानी राम्रै हुने देखेपछि पाँच हजार रुपैयाँ जम्मा गरें । त्यसपछि बढाउँदै चार लाख रुपैयाँसम्म पुर्‍याएँ ।”

फिफियामा खासै काम केही गर्नु नपर्ने हुँदा कक्षा नभएको समयमा उनी फोन खोलेर बेटिङ गर्न थाले । पछि आम्दानी बढ्दै गएको देखेपछि उनले ऋण निकालेर समेत त्यसमा बेटिङ गर्न थाले ।

उनलाई आ‍फूभन्दा माथिल्लो तहका शिक्षकले फिफियाबारे बुझाएपछि सो प्लेटफर्मप्रति कुनै शंका थिएन । भन्छन्, “लोभले पनि होला सरले भनिसकेपछि रकम राख्न थालियो । आम्दानी बढिरहेको देखाउँथ्यो । खासै अध्ययन गरिएन ।”

उनले पनि आफ्नो प्रोमोकोड दिंदा थप आम्दानी गर्न सकिन्छ भन्ने बुझे । त्यसपछि सोही स्कुलको नर्सरीमा पढाउने शिक्षिकालाई कठायतले फिफियाबारे अवगत गराए ।

ती शिक्षिकाका श्रीमान् केही समयअघि मात्र वैदेशिक रोजगारीमा गएका थिए । शिक्षिकाले पनि श्रीमान्‌ले पठाएको रकम लगानी गर्ने उपयुक्त माध्यम खोजिरहेकी थिइन् ।

आफ्नै स्कुलका अर्का शिक्षकले फिफियाबारे बताएपछि उनी पनि उत्सुक भएर सो प्लेटफर्म प्रयोग गर्न थालिन् । “मलाई खासै चलाउन आउँदैन,” उनी भन्छिन्, “दिनमा तीन पटक बेट गर्न चाहिं जानेकी थिएँ, मान्छे बनाउने, प्रोमोकोड दिनेबारे मलाई केही थाहा थिएन ।”

ती शिक्षिकाका काकालाई केही दिनअघि बाइकले ठक्कर दिएको थियो । सोही विषयमा अनुसन्धानका लागि प्रहरीले आफूलाई बोलाएको होला भन्ने उनलाई लागेको थियो । उनी कार्यालयमा पुगेपछि छाँगाबाट खसैझैं भइन् ।

किनभने उनी अवैध रूपमा अनलाइन सट्टेबाजीमा जोडिएकी देखिन्थिन् । “मलाई त किन बोलाउनु भएको भन्ने पनि थाहा थिएन,” उनी भन्छिन्, “पछि फिफियामा अवैध रूपले रकम जम्मा गरेको देखेर बोलायौं भनेपछि झसङ्ग भएँ ।”

उनले सुरुमा डराएर आफू कसरी फिफियामा जोडिएको भन्ने विषयमा केही भनिनन् । उनलाई विदेशमा भएका श्रीमान्‌ले त्यसरी अवैध प्लेटफर्ममा रकम जम्मा गरेको थाहा नपाओस् भन्ने मात्र थियो ।

प्रहरीले बढी जोड गरेइपछि उनले आफ्नै स्कुलका अर्का शिक्षकले सो प्लेटफर्ममा लगाएको कुरा स्वीकारिन् ।

यति भएपछि प्रहरीले ती अर्का शिक्षक पन्च कठायतलाई बोलायो । उनी सो प्लेटफर्मबारे ती शिक्षिकाभन्दा केही बढी जान्ने भए पनि त्यति विस्तृतमा बुझेका थिएनन् । कठायतलाई प्रहरीले सोधपुछ गर्दा उनले महतमार्फत आफू फिफियामा जोडिएको खुलाए । त्यसपछि प्रहरीले महतलाई पनि कार्यालयमा बोलायो ।

महतले आफूले विभिन्न कागजात देखेर विश्वास गरी सो प्लेटफर्ममा रकम राखेको सुनाए ।

तर, यता सबैभन्दा पहिले अरू शिक्षकलाई सुझाव दिने महतलाई भने कता कता शंका लागिरहेको थियो । उनले फिफियाका एजेन्टसँग नेपालमा सो कम्पनीको कार्यालय कता छ भन्ने बारे बुझ्न थाले ।

“हामीलाई कसैले पनि कार्यालय कहाँ छ भन्ने कुरा जानकारी दिएको थिएन,” उनी सुनाउँछन्, “त्यसका लागि केही क्राइटेरिया जस्तै मेम्बर बढाउने, लगानी गरेको भन्ने हुनुपर्थ्यो । त्यसपछि ह्वाट्सएपमा जोडिएको अर्को ग्रुपबाट हामीलाई इन्भिटेसन आउँछ भनिएको थियो ।”

उनले यी सबै मापदण्ड पूरा गरेपछि उनलाई इन्भिटेसन आयो । इन्भिटेसनसँगै काठमाडौंको टोखा ६ मा रहेको फिफिया कार्यालयको लोकेसन पठाइयो । महत त्यही अफिसमा बुझ्न गए ।

बुझ्न गएपछि उनलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भइसकेको र बाँकी निकायबाट दर्ता गर्ने प्रक्रिया अगाडि बढेको भन्दै सो कार्यालयकी एक महिलाले आश्वस्त पार्न खोजिन् ।

“मलाई इमान्दार भएको, राम्रोसँग मान्छेहरू बनाएको भनेर उहाँहरूले मलाई आफ्नो कार्यालयमा बोलाउनु भयो,” महत भन्छन्, “कार्यालयमा पुगिसकेपछि पनि उहाँहरूले मलाई फिफिया लेखेको टिशर्ट, कप र झोला दिनुभयो ।”

त्यसपछि प्रहरीले असोज ३ गते राति नौ बजे टोखा ६ मा रहेको फिफिया कार्यालयमा छापा हान्यो । सो कार्यालय ‘फिफिअ इन्टरनेट मिडिया प्रालि’ नामबाट दर्ता थियो ।

जसको सञ्चालिका दादिला शेर्पा (राई) थिइन् । उनैलाई पक्राउ गरेर प्रहरीले ठगी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ । राईमाथि हाल अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button