खेलकुदसमाचार

चीनमा भारतीयको विश्वकीर्तिमान ध्वस्त गर्दा भारतीय मिडियामा नेपाली क्रिकेटरको चर्चा (भिडियाे)

A+AA-1.6K SharesFacebookMessengerTwitterViber

चीनको होङ्झाओमा जारी १९औँ एसियाडमा बुधबारको दिन नेपाल र मंगोलियाका लागि ऐतिहासिक रह्यो । मंगोलियाले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पणको गौरव हासिल गर्दा नेपालले दुर्लभ विश्वकीर्तिमानको झण्डा गाड्यो ।

सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप टी २० खेलेपछि टी २० आईको मान्यता पाएको थियो । अहिले नेपाल टी २० आईमा आईसीसी वरीयताको १७ औँ नम्बरमा छ । तर, आज नेपालले जुन प्रदर्शन गर्‍यो त्यो विश्व नम्बर एक टिमभन्दा निकै माथि रह्यो । नेपाली टिम र खेलाडीले आज जुन विश्वकीर्तिमान कायम गरेका छन् त्यो निकै दुर्लभ छ । आज नेपाली क्रिकेटरले जुन विश्वकीर्तिमान राखे त्यसले धेरै जसो छिमेकी मुलुक भारतका खेलाडीले कायम गरेका कीर्तिमान तोडिए ।

आज तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपालक कुशल मल्लले प्रहार गरेको शतक विश्वकीर्तिमानी बन्न पुग्यो । उनले ३४ बलमै शतक बनाए । जुन भारतका अहिलेका कप्तान रोहित शर्माले बनाएको विश्वकीर्तिमान भंग गर्न पर्याप्त बन्यो । शर्माले ३५ बलमा श्रीलंकाविरुद्ध २०१७ मा शतक पूरा गरेका थिए । आज ६ वर्षपछि मल्लले शर्माको कीर्तिमान तोडे । त्यसो त साउथ अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकका एस विक्रामासेक्राले पनि ३५ बलमै शतक बनाएका थिए । यी सबै कीर्तिमान आज मल्लले तोडे ।

यस्तै पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले आज बनाएको अर्को विश्वकीर्तिमान लगभग अब तोडिन असम्भव जस्तै छ । उनले मात्र ९ बलमा अर्धशत पूरा गरे । संयोगले यसअघि यो कीर्तिमान पनि भारतीय क्रिकेटरकै नाममा रहेको थियो । सिक्सर किङका नामले चर्चित भारतीय क्रिकेटर युवराज सिंहले सन् २००७ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशत बनाएका थिए ।

१६ वर्षपछि ऐरीले आज उनको कीर्तिमान पनि चकनाचुर पारिदिएका छन् । क्रिकेटमा नौ बलभन्दा कम बलमा अर्धशतक बन्न असम्भव जस्तै छ । किनकी हरेक बलमा छक्का प्रहार गर्दा मात्र नौ बलमा अर्धशतक पूरा हुन्छ । त्यसैले नौ बलभन्दा कम बलमा अर्धशतक नै बन्दैन । ८ वटै बलमा लगातार छक्का प्रहार गरे पनि त्यतिबेला ४८ रन मात्र बन्न सक्छ । त्यसैले ऐरीको यो विश्वकीर्तिमान तोडिने देखिँदैन । बराबरी हुनसक्छ । उनले अर्धशतक बनाउँदा ५२० को स्ट्राइक रेटमा रन बनाएका थिए । यो पनि दुलर्भ विश्वकीर्तिमान हो । यो उच्च स्ट्राइक रेटमा अर्धशतक बनाएको विश्वकीर्तिमान हो ।

यी त भए खेलाडीले कायम गरेका विश्वकीर्तिमान । नेपाली टिमले पनि आज विश्वकीर्तिमान कायम गरेको छ । टी २० आईमा तीन सय रन कटाउने पहिलो टिम बन्दा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनायो । जुन हालसम्मकै टी २० आईको सर्वाधिक स्कोर हो । नेपालले आयरल्याण्डविरुद्ध अफगानिस्तानले बनाएको २७८ रनको विश्वकीर्तिमान भंग गरेको हो ।

यसपछि पनि नेपाली टिमका नाममा अर्को विश्वकीर्तिमान बन्यो । त्यो हो सबैभन्दा धेरै मार्जिनको जित । ३१४ रनको लक्ष्य पाएको मंगोलिया ४१ रनमा अलआउट हुँदा नेपालले २७३ रनको जित हात पार्‍यो । रनका हिसाबले टी २० आईको सबैभन्दा ठूलो जित हो । त्यति मात्र होइन नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाप्त क्रिकेटमा बनाएको यो उच्च स्कोर पनि हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button