समाचार

इजरायल हमला घाइते प्रविणले बुबालाई फोनमा भने ‘मरिन्छ कि बाँचिन्छ केही थाहा छैन’

हिजो (शनिबार) बिहान ११ बजेतिर इजरायलमा रहेका दाङका प्रविण डिसीले बाबुलाई फोन गरेर भनेका थिए ‘मरिन्छ कि बाँचिन्छ केही थाहा छैन।’

‘इजरायलमा बिहान ६ बजे देखि बम बिष्फोट भइरहेको छ।’ आफू बसिरहेको इजरायलको ‘अलुमिम किवुज’ भन्ने स्थानमा लगातार बम आक्रमण भएपछि अत्तालिएका प्रविणले आफूहरु माथि पनि निकै खतरा रहेको परिवारलाई फोन गरेर सुनाए।

दाङ दंगिशरण गाउँपालिका वडा नम्बर ३ हेकुलीका बाबु निमबहादुर डाँगी आत्तिए। फेरी अनलाइन मार्फत सम्पर्क गर्न खोजे। तर सम्पर्क हुन सकेन।

हिजो बिहान ११ बजे देखि सम्पर्क विहीन भएका छोरा प्रविणको चिन्ताले परिवार विक्षिप्त बन्दै गयो। इजरायलमा लगातार भएका बम आक्रमण र इजरायल गएका नेपाली विद्यार्थीहरु बेपत्ता भएको लगातार सञ्चार माध्यममा आइरहेका समाचारले परिवारलाई झन् चिन्तित बनाउँदै गयो। तर जति गर्दा पनि छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क भएन। नत प्रविणका साथीहरु नै सम्पर्कमा आए।

‘छोरासँग जति गर्दा पनि सम्पर्क गर्न सकिएन,’ निमबहादुर भन्छन् ‘उसका साथीहरुलाई सम्पर्क गर्दा पनि कसैसँग पनि कुराकानी हुन सकेन।’

शनिबार बिहानै देखि सम्पर्क विहीन भएका प्रविणको आइतबार बिहान सम्म पनि अत्तोपत्ता हुन सकेन। दिउँसो पख नजिकैको मोबाइल पसलमा इजरायलबाट फोन आयो। फोन गर्ने उनै प्रविण रहेछन्। उनी सम्पर्क विहीन भएको २४ घण्टा पछि परिवारले प्रवीणसँग कुराकानी गर्न पायो।

बम आक्रमणमा परि घाइते भएका रहेछन् प्रविण। उपचाररत उनले अस्पतालबाटै आइतबार दिउँसो भिडियो कल गरे। ‘प्रविण आज (आइतबार दिउँसो) परिवारको सम्पर्कमा आए,’ दंगिशरण गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरीले भने ‘कुरा हुने बेलामा म पनि संगै थिएँ।’

बम आक्रमणमा परेका प्रविणले आफ्नो दुवै खुट्टामा गाली लागेको बताएका थिए भने एउटा खुट्टा भाँचिएको समेत बताएका थिए।

उनका अनुसार भिडियो कलमा देखिएकी अस्पतालकी नर्सले प्रविणलाई धेरै बेरा कुराकानी गर्न दिइनन् र फोन खोसिदिएकी थिइन्।

दुवै खुट्टामा गोली लागेको र एउटा खुट्टा भाँचिएका प्रविण अस्पतालमा भर्ना भएको परिवारले थाहा पायो। तर अवस्था के छ वा के हुने हो ? भन्ने पिरलोमा परिवार छ। फलतः उनलाई जति सक्यो चाँडै नेपाल ल्याइदिए हुन्थ्यो भन्नेमा परिवार छ।

कृषि विश्व विद्यालय सुदूर पश्चिममा अध्ययनरत प्रविण ईजरायल गएको आगामी २६ गते एक महिना पुग्दैछ। ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत प्रविण ११ महिनाका लागि इजरायल पुगेका थिए।

अहिले पनि त्यहाँ हमास समूहले गरिरहेको आक्रमणको त्रासले प्रविणका बाबु निमबहादुरको मन डराइरहेको छ। प्रविण अस्पतालमा उपचाररत रहे पनि कति बेला के हुने हो भन्ने चिन्तामा उनको परिवार छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button