वैज्ञानिकले विकास गरे नयाँ एआई टुल, ९० मिनेटमै ब्रेन ट्युमर पत्ता लगाउने
काठमाडौं । ब्रेन ट्युमरको उपचार गर्न नेदरल्यान्ड्सका वैज्ञानिकले ‘स्टर्जन’ (Sturgeon) नामक एआई प्रणाली विकास गरेका छन् । नेचर जर्नलमा अनुसन्धान प्रतिवेदन प्रकाशित गर्दै वैज्ञानिकहरूले यसबारे जानकारी दिएका हुन् ।
यो प्रणालीले ९० मिनेटभित्र ब्रेन ट्युमरको प्रकार तथा उपप्रकार थाहा पाउने र त्यसले उपचार गर्न सहयोग गर्ने बताइएको छ । हाल ब्रेन ट्युमरको शल्यक्रिया गर्दा बिरामीको ट्युमर हटाउन स्वस्थ मस्तिष्कको तन्तु काट्ने वा बिरामीलाई हानी नगर्न स्वस्थ तन्तु छाड्ने भन्ने जस्ता विषयमा सर्जनहरूले निकै सतर्कता अपनाउनुपर्ने हुन्छ ।
अब भने यो ब्रेन ट्युमरकाे पहिचान एआईले नै गर्नेछ । वैज्ञानिकहरूले विकास गरेको एआई प्रणालीमा ट्युमरको डीएनएलाई कम्प्युटर स्क्यानिङ गर्ने गरिन्छ । त्यसबाट पर्याप्त सूचना प्राप्त हुने हुनाले शल्यक्रिया गर्नुअघि महत्त्वपूर्ण निर्णय लिन सर्जनलाई सहयोग मिल्नेछ ।
यो एआई प्रणाली सार्वजनिक गर्नुअघि वैज्ञानिकहरूले ब्रेन क्यान्सर लागेका व्यक्तिको ट्युमरका नमूनामा परीक्षण गरेका थिए । त्यसबेला ४० मिनेटभित्र ५० मध्ये ४५ केसको प्रणालीले सही नतिजा दिएको थियो । त्यस्तै वैज्ञानिकहरूले २५ जीवित मस्तिष्कमा समेत यस विधिको परीक्षण गरेका थिए । ती मध्ये १८ मा ८० मिनेटभित्र ट्युमर भएको पत्ता लागेको थियो ।
यस नयाँ विधि परम्परागत जेनेटिक सिक्वेन्सिङ विधिहरू भन्दा छिटो र सस्तो हुने बताइएको छ । त्यस्तै तन्तुका ससाना नमूनाहरूमा समेत यसले काम गर्ने जनाइन्छ । यद्यपि यो प्रणाली विकासको क्रममा नै छ । तर यो प्रणाली बजारमा आए मस्तिष्क क्यान्सर उपचारका लागि महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ ।