नेपाल प्रहरीले दशैंमा ड्रोन मार्फत काठमाडौंको सुरक्षा निगरानी गर्ने
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका संवेदनशील सार्वजनिक स्थानहरूमा सुरक्षाका लागि ड्रोन प्रयोगमा ल्याएको छ । सोमवार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै परिसरले ड्रोन प्रयोगमा ल्याइएको जानकारी दिएको हो ।
विगतमा चाडपर्वहरूको अवधिमा देखिएका विभिन्न जोखिमहरूको पहिचान गरी अहिलेको चाडपर्वको वातावरणलाई सुरक्षित बनाउने उद्देश्यले ड्रोनबाट निरीक्षण सुरु गरिएको परिसरले जनाएको छ ।
“काठमाडौंका बढी भिडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्यमुख्य क्षेत्रहरूमा अनम्यान्ड एरियल भेहिकल (ड्रोन) द्वारा अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको बेहोरा सर्वसाधारणहरूमा जानकारी गराउँछौ,” सूचनामा भनिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको ड्रोन फुटेजमा काठमाडौं न्युरोडको व्यस्त सडकमा गाडी र मानिसहरूको आवतजावत भइरहेको देख्न सकिन्छ । पोस्टमा भिडभाड हुने ठाउँमा ड्रोन परिचालन गरिएको भनेको भए पनि कुन कुन स्थानमा ड्रोन परिचालन गरिएको हो भन्ने बारे विस्तृतमा खुलाइएको भने छैन ।