‘६ सय जति अमेरिका छिरे, ६ सय बाटोमै छन्, अरु थुप्रै तयारीमा छन्’
करिब एक दशक भयो, रुकुममा अमेरिका जाने लहर चलेको । द्वन्द्वकालकै बेला केही फाटफुट गएका थिए, शान्ति सम्झौतापछि यो क्रम बढ्यो । अमेरिका जाने क्रम बढेको एक दशक जति भयो होला ।
अहिले त अवस्था यस्तो छ की अमेरिका नगएका कुनै गाउँ टोल छैनन् । आधाजसो घरमा प्रत्येक घरबाट कोही न कोही अमेरिका गएका छन् भन्दा हुन्छ । कसै कसैको त छोराहरु पुगेर परिवारलाई नै अमेरिका लगेको अवस्था पनि छ ।
यस्तै आफ्नो घरै छाडेर परिवारै अमेरिका गएकाहरु पनि थुप्रै छन् । एउटा घरबाट कोही अमेरिका गएको छ भने उसले भाई, दिदी भिनाजु, सालासम्मलाई समेत लगेको छ ।
उदाहरणका लागि एकजना लेखपढ नगरेको मान्छे अमेरिका जान्छ । उसले महिनामा केही लाखमा पैसा पठाउँछ । दाङमा घर किन्छ, काठमाडौंमा घर किन्छ, जग्गा किन्छ । त्यसपछि अर्काेलाई के लाग्छ भने किन यहाँ किन दुःख गर्ने, किन पढ्ने भन्ने लाग्छ ।
हुन पनि दिनभर जोतेर एक छाक खान पनि पुग्दैन, राज्यले पनि हेर्दैन भन्ने उसलाई लागेको हुन्छ । अनि ऊ पनि अमेरिका जाने लहडमा लाग्छ । अरु त अरु स्थायी जागिर भएका शिक्षक, प्रहरी, कर्मचारी, सेना समेत अमेरिका जान हिँडेका छन् ।
कस्तोसम्म भयो भने गाउँमा शिक्षक नै पाउन मुस्किल भइसक्यो । धेरै पैसा कमाई हुने लोभमा धेरैजना अमेरिका जाने मनोविज्ञानमा छन् । अहिले भएको यही हो ।
अभिभावकहरुमा पनि छोराछोरीलाई पढाउनु पर्छ भन्ने मानसिकता देखिँदैन । अरुले अमेरिका पुगेर लाखौं कमाएको देखेर आफ्ना सन्तान पनि अमेरिका पठाउन तम्सिएका छन् । अर्काको देखासिखीले गर्दा यो स्थिति छ ।
ठूलो चिन्ताको विषय के छ भने अमेरिका गएकाहरु गाउँ फर्कदैनन् । कि त उतै बस्छन् की दाङ, काठमाडौंमा घर बनाएर बस्छन् । अझ भन्नु पर्दा एक जना अमेरिका छ भने उसले सात आठ जनालाई अमेरिका लैजान्छ । यसरी हेर्दा एक जना अमेरिका जाँदा १० जना सदस्य बाहिरिन्छन् ।
यो तथ्यबाट आफैँ अनुमान लाउनुस् की अबको दश वर्षपछि यहाँ बस्ने मान्छे हुन्छन् की हुँदैनन् । गाउँका गाउँ नै रित्तिने अवस्थामा पुग्ने भयो । त्यसपछि यहाँको खेती किसानीको अवस्था के हुन्छ ? जमिनहरु कति बाँझा होलान् ? यहाँका खोला नाला र पानीको अवस्था के हुन्छ ? सोचनीय कुरा छ ।
अमेरिका लहड तत्काल रोकिने संकेत देखिँदैन । न सम्झाउन सकिन्छ, न बुझाउन सकिन्छ । राज्यले पनि यसमा चासो देखाउँदैन । युवालाई गाउँ ठाउँमा विकल्प पनि केहि छैन । केन्द्रले रोजगारमुखी योजनाहरु पनि पठाइदिँदैन ।
हामीले हाम्रो क्षेत्रमा कृषिमुखी रोजगारी सिर्जना गर्ने योजनाहरु ल्यायौं भने मात्रै यो क्रम रोक्न सकिन्छ, नत्र केही गर्न सकिदैन । अहिले हाम्रो गाउँपालिकाबाट मात्रै ६ सय जना अमेरिका पुगेका छन्, ६ सय जना बाटोमा छन् र एक हजार जति जाने तयारीमा छन् ।
अवैध रुपमा ठूलो लगानी गरेर अमेरिका पुगेका सबै सफल चाहिँ भएका छैनन् । आधा जति पुगे होलान् तर आधा बढीको जिन्दगी बर्बाद पनि भएको छ
यसको सबैभन्दा ठूलो असर शिक्षामा परेको छ र गाउँको युवा जनशक्ति शुन्य हुने अवस्था बन्दै गएको छ । गाउँमा युवा जनशक्ति नै छैन, सबै बाहिरिएको अवस्था छ । पैसा नहुने र पहुँच नपुग्नेहरु मात्रै गाउँमा छन् ।
अमेरिका जान एक जनालाई ३० देखि ८५ लाखसम्म खर्च गर्ने गरेको सुनिन्छ । यस्तो दुरदराजमा एउटा परिवारले त्यति ठूलो पैसा खर्च गरेर अमेरिका पठाउनै सक्दैन । उनीहरु कसरी पैसा जुटाउँछन् भने एउटा व्यक्ति अमेरिकामा दुई वर्ष बस्यो भने दुई करोड कमाउँछ । त्यो दुई करोडले चार जनालाई लाने भयो ।
त्यो चार जनाले फेरि अरु १६ जनालाई लैजाने भए । २५ जनाले सय जना लैजाने भए, एक सय जनाले चार सय लैजाने भए । यसरी अमेरिका गएकाहरुले आफन्तहरुलाई ऋण दिएर अमेरिका जान लाग्ने खर्च जुटाई रहेका छन् ।
यसबाहेक कतिले घर जग्गा, गरगहना धितो राखेर पनि पठाइ रहेका छन् । कतिले चाहीँ १० जना मिलेर १०/१० लाख उठाएर एक जनालाई पठाउने र त्यसपछि क्रमशः पालो मिलाएर १० जना अरुलाई पठाउने गरिरहेका छन् । नत्र यहाँ यति ठूलो पैसा जुटाउने आम्दानीको श्रोत केही छैन ।
अवैध रुपमा ठूलो लगानी गरेर अमेरिका पुगेका सबै सफल चाहिँ भएका छैनन् । आधा जति पुगे होलान् तर आधा बढीको जिन्दगी बर्बाद पनि भएको छ । त्यति ठूलो पैसा लगाएर दलालले ठगेर, बीच बाटोबाट फर्किएर, पुगेर पनि फर्किएकाहरुको जिन्दगी बिग्रिएको पनि छ । उनीहरुमध्ये कति त ठूलो ऋणको भूमरीमा फसेर उठ्नै नसक्ने अवस्थामा पनि पुगेका छन् ।
हुँदा हुँदा कतिले त आत्महत्या गर्ने र गाउँ नै छोडर भाग्ने स्थिति पनि छ । यहाँको अवस्था एकदमै डरलाग्दो पनि छ । यो एकदमै चिन्ताको विषय बनेको छ । यसलाई कसरी लिने, हामी स्वयं अन्योलमा छौं । यस बारेमा हामीले पालिका तहबाट मात्रै सोचेर हुँदैन, केन्द्र र प्रदेशले पनि सोच्नु पर्छ । n