आईसीसी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई सहजै हरायो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्नु राम्रो हो ।
नेपाल टिमले आफू कुन स्तरमा छ भनेर देखायो । १७ ओभरमै खेल जित्दा नेपाली टिमको मनोबल बढाउँछ र बाँकी ६ टिमको लागि पनि अर्कै खालको दबाब सिर्जना पर्छ । विशेष गरी नेपालसँग खेल्ने मलेसिया र ओमानलाई दबाब पर्छ ।
सिंगापुरको अनौठो निर्णय
सिंगापुरले टस जितेर ब्याटिङ रोज्यो, जुन मेरो लागि अनौठो रह्यो । मौसम चेन्ज हुने समय छ । अक्टोबर सकिएर नोभेम्बर सुरु हुन लागेको छ । चिसो बढिरहेको छ र बिहानको कन्डिसनमा मौसमले कसरी खेल्छ भन्ने थाहा हुँदैन ।
यसअर्थमा टस हारेर पनि बलिङ गर्न पाउनु हाम्रा लागि लक्की रह्यो जस्तो लाग्छ । पहिलो ओभरमै करण केसीले विकेट लिँदै सिंगापुरलाई दबावमा राख्न प्रयास गरे । तर सिंगापुरले कमब्याक गर्यो ।
पाँचौं ओभरमा त अविनाश बोहोराको लुज बलहरुमा रोहन रंगराजनले एकपछि अर्को बाउन्ड्री हाने । यो ओभरले म्याचको मोमेन्टम चेन्ज भयो, सिंगापुरतर्फ सिफ्ट भयो । पावर प्लेमा ५० रन कटाएको सिंगापुरले मिडल ओभरमा राम्रो खेल्यो भने १६०÷१७० रन बनाउने संकेत देखायो ।
तर सन्दीप लामिछाने र गुल्सन झाले जसरी बलिङ गरे, त्यो गेम चेन्ज भयो । सन्दीपले पार्टनरसीप तोडे भने गुल्सनले एकै ओभरमा दुई विकेट लिए । सिंगापुरलाई कम स्कोरमा रोक्न सफल भयो । १८० पनि डिफेण्ड गर्न गाह्रो हुने मैदानमा नेपालले बिहानी कन्डिसनमा राम्रो सदुपयोग गरेर १४५ मा रोक्यो ।
यसले दोस्रो इनिङ्समा नेपाललाई चेज गर्न सजिलो पनि भयो । नेपालले राम्रो सुरुवात गर्यो । कुशल भुर्तेल र आसिफले शेखले ८४ रनको ओपनिङ पार्टनरसिप गरे, जसले जितको बलियो आधार बनायो । जसले रोहितकुमार पौडेललाई सहज भयो । रोहित आउँदा करिब ६० रन जति चाहिएको थियो । आवश्यक रनरेट ६ रन भन्दा तल थियो, त्यसैले खासै प्रेसर भएन ।
नेपाली ब्याटरहरुलाई सिंगापुरले कुनै पनि समय दबावमा राख्न सकेन । जसरी कुशलले एग्रेसिभ ब्याटिङ गरे, मैदानभरी सटहरु खेले, त्यसले पनि सिंगापुरका बलरहरुलाई गाह्रो भयो जस्तो लाग्छ । त्यसले जितको श्रेय कुशल र आसिफलाई जान्छ । साथसाथै रोहितले पनि विगतमा खेलहरुमा जस्तै अन्तिमसम्म बसेर गेम फिनिस गरे । कप्तानको साइडबाट त्यस्तो देखिँदा टिमलाई अझ बढी कन्फिडेन्स मिल्छ ।
मलेसियासँग कस्तो खेल्ला ?
अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि मंगलबार मलेसियासँग खेल्नुपर्नेछ ।
मलेसियालाई सजिलो लिन मिल्दैन । मलेसियाले नेपालमा पहिला पनि खेलेको छ । मलेसियाका खेलाडीहरुले यहाँ आएर फ्रेन्चाइज लिगहरु पनि खेलिरहेका छन् । उनीहरुलाई हाम्रो बलियो र कमजोर पक्ष थाहा छ । हामीलाई पनि उनीहरुबारे थाहा छ ।
भोलिको गेम दिउँसो भएकाले दुवै टिमलाई टसले खासै फरक पर्दैन ।
निश्चित रुपमा नेपाल फेवरेट हुन्छ । तर हामी राम्रो खेलिरहे पनि पार्टीकुलर गेममा राम्रो खेल्नुपर्छ । मलाई लाग्छ, मोन्टी सर, एनालिस्ट रमन सिवाकोटी र कन्सलट्यान्ट कोचले मलेसियाको पहिलो खेल (सोमबार दिउँसो ओमानविरुद्ध) हेरेर भोलिको गेमका लागि रणनीति तयार पार्नुहुन्छ होला ।
मलेसिया र ओमानको खेल दिउँसो भएकाले पनि भोलि कसरी खेल्ने भनेर राम्रो आइडिया हुन्छ जस्तो लाग्छ ।
विश्वकप खेल्ने चाहना
नेपाले २०१४ मा पहिलोपटक विश्वकप खेल्यो । त्यसपछि हरेक विश्वकप खेल्छौँ भन्ने आशा थियो । तर हामीले धेरै कुर्नुपर्यो । यो पटक घरेलु मैदानमा खेल्दैछौं, त्यसैले नेपाल फेवरेट टिमको रुपमा छ ।
तर २० ओभरको गेममा कसैलाई कमजोर आँक्न मिल्दैन । किनकी ५० ओभरको खेलमा बीच–बीचमा पुनरागमन गर्न सकिन्छ, टी–२० मा पुनरागमन गर्न सहज हुन्न । स्किलमा त हामी माथि नै छौं । ब्याटिङ, बलिङ सबैमा राम्रो छ ।
क्रिकेट यस्तो गेम हो, जसमा चाहिएको दिनमा बेस्ट क्रिकेट खेल्नैपर्छ । मोन्टी देशाईँ सर आएपछि हामीले पछिल्लो ६–७ महिना जसरी क्रिकेट खेलेका छौं, त्यो लयलाई कायम राख्दै वेस्ट क्रिकेट खेल्नुपर्छ ।
२०१३ को छनोट खेल्नुअघिसम्म हामीले विश्वकप खेल्छौं भनेर धेरैलाई विश्वास पनि थिएन । किनकी धेरै राम्रा टिमहरु पनि थिए । तर २०१३ को बर्मुडा टुरदेखि नेपाली टिम लयमा आयो ।
अनि जब दोस्रो खेलमा स्टिभ टिकोलो र थोमस ओडोयो जस्ता अनुभवी खेलाडी भएको केन्याविरुद्ध अनौठो तरिकाले जित्यौं, सबैको आत्मविश्वास बढ्यो । त्यो क्षण सम्झँदा अहिले पनि मेरो त आङ नै जिरिङ्ग हुन्छ । विश्वकप खल्ने भएछि त माहोल नै फेस्टिभल जस्तो भयो । एअरपोर्टमा ल्यान्ड भएदेखि होटल पुग्दासम्मको माहोल लोभलाग्दो थियो । त्यस्तो फेरि भा’छ जस्तो लाग्दैन ।
यो पटक फेरि त्यो माहोल फर्काउने अवसर छ । हामीसँग वेस्ट टिम पनि छ जस्तो लाग्छ । यहाँको कन्डिसन अनुसार सन्दीप आएका छन्, उनी एक्स फ्याक्टर हुन् । उनी जब बलिङमा आउँछन्, अपोनेन्ट टिमलाई एक्स्ट्रा प्रेसर परिहाल्छ ।
ब्याटिङमा पनि नेपालले राम्रो गरेको छ । पछिल्लो दुई वर्ष हेर्नुभयो भने ब्याटरहरुले टिमलाई चाहिएको बेला रन हानिरहेका छन् । शतक हानेको नहोला, तर लोअर अर्डरमा आएर पनि रन हानेका छन् । सोमपालले, गुल्सनले पनि योगदान गरेका छन् । समग्रमा हेर्दा हामी बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रै छौं ।
त्यसैले आजको दिनमा हाम्रो चासो भनेको प्रेसर सिचुएसनमा क्लिक हुनुपर्यो । समूह चरणमा ओमानसँग समूह चरणको खेल, अनि सेमिफाइनलमा क्लिक हुनुपर्यो । अस्ति त्रिकोणात्मक श्रृंखलाको फाइनलमा जस्तोे कोल्याप्स भयो वा हामीले अपेक्षा गरे अनुसार भएन भने के गर्ने भन्ने प्रश्न हो ।
हाम्रा खेलाडीहरुमा विश्वकपमा पुग्ने जुन भोक देखेको छु, यसले चाहिँ अपेक्षा पूरा हुन्छ लाग्छ ।
दीपेन्द्रको चोटले थपेको चिन्ता
दीपेन्द्र सिंह ऐरीको चोट के हुन्छ अहिले ठूलो कौतुलता छ । किनकी यो प्रतियोगितामा उनको ठूलो रोल छ । यस्तो प्रतियोगिताहरुमा दीपेन्द्रको ब्याटिङ मात्र होइन, बलिङ, फिल्डिङ भाइटल हुन्छ ।
नेपाली टिममा सन्दीप र दीपेन्द्र तुरुपको एक्का हुन् । विशेषगरी मिडल अर्डरमा प्रेसर सिचुएसनमा दीपेन्द्रले गेम नै चेन्ज गरिदिन्थे ।
महत्वपूर्ण समयमा दीपेन्द्रले राम्रो प्रदर्शन गरिरहेका थिए । उनले बाँकी खेल खेल्न सक्ने नसक्ने अन्यौल छ ।
यदि उनी खेल्न नसक्ने अवस्थामा त्यो स्थान कसले कभर गर्छ आउने गेममा हेर्नैपर्छ । उनको रिप्लेसमेन्टमा बेन्च स्ट्रेन्थ कस्तो छ भनेर टेष्ट हुन्छ । आज विवेक यादवलाई खेलाइएको छ । उनी वा सन्दीप जोराको भूमिका महत्वपूर्ण हुन्छ जस्तो लाग्छ ।
विनोद भण्डारी पजि टिममा छन्, तर मोन्टी सरले उनलाई विगतमा ओपनर र टप अर्डरमा हेर्नु भएको थियो । आसिफ शेखको चोट भएकाले ब्याक अपको रुपमा विनोदलाई टिममा राखिएको जस्तो लाग्छ ।
त्यसैले दीपेन्द्र खेल्न नसक्ने अवस्थामा विनोदलाई मिडल अर्डरमा ल्याइन्छ जस्तो लाग्दैन ।
कहिले काहीँ अर्को पनि बलर नै खेलाउने पनि हुनसक्ला, तर यो चाहीँ पिच हेरेर हुन्छ । यहाँको कुनै विकेटमा ग्रास भयो, पिचमा टर्निङ विकेट भयो, बल घुम्न थाल्यो भने मात्र बलर थप्ने कि भन्ने हुन्छ ।
अर्को स्पीनर खेलाउने कि भन्ने हुन्छ । आज पनि चार पेस बलर खेलेका थिए । किनकी लेफ्ट ह्यान्डर भएकाले कुशल मल्ल प्रयोग भएन । यस्तो कुरा चाहिँ अर्को टिमले कति लेफ्टी खेलाउँछ, त्यो पनि हेरेर खेलाउने कि नखेलाउने निर्णय हुन्छ जस्तो लाग्छ ।