रोचक

किन लगाउने जनै ? यस्तो छ महत्व

जनैपूर्णिमा विशेषगरी यज्ञोपवित भन्ने संस्कारसँग सम्बन्धित छ । यज्ञोपवित ‘यज्ञ’ र ‘उपवित’ दुईवटा शब्दहरु जोडेर बनेको हुन्छ । यज्ञ दैविक संस्कृतिको एउटा अभिन्न अंग हो । जुन यज्ञ संस्कारलाई जीवनको अभिन्न अंग मान्ने र यज्ञद्वारा समाजको आध्यात्मिक र भौतिक विकास हुन्छ भन्ने मान्यता छ । वैद्धिक संस्कृतिमा यज्ञले समाजको आर्थिक, सामाजिक तथा मानसिक विकासमा मद्दत गर्ने विश्वास गरिन्छ ।

यज्ञ गर्नका लागि भावनात्मक र मनोवैज्ञानिक रुपमा मानव शरीर, मन, वुद्धि अनि इन्द्रियमा देवताको शक्तिलाई स्थापित गर्नुपर्छ । त्यसो गर्नका लागि छुट्टाछुट्टै देवताहरुको नाम लिएर मन्त्रणा गरेको धागो अर्थात् यज्ञोपवित धारण गरिन्छ ।

जनैपूर्णिमाको महिमा

यज्ञोपवितलाई राम्रोसँग मन्त्रणा गर्ने, त्यसमा संस्कार स्थापित गर्ने र पुरानो यज्ञोपवित परिवर्तन गर्नेसँग सम्बन्धित मुख्य पर्व हो– जनैपूर्णिमा । त्यही मन्त्रणा गरेको उपवित लगाउने वैदिक परम्परा र विधि नै जनैपूर्णिमाको मुख्य आकर्षण हो ।
ज्ञानको मूल स्रोत भनेकै वेद हो । प्रचिनकालदेखि वेद ज्ञानको रुपमा रहँदै आएको छ । त्यही वेद अर्थात् ऋषि परम्परा हामीसम्म आइपुग्यो । हाम्रा ती वेद चलाउने गुरुहरुको सम्झना गरेर तर्पण गर्ने र, आफ्नो ऋषि परम्पराको याद गर्ने दिन भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।

त्यस्तै, तेस्रो महत्वपूर्ण पक्ष भनेको ऋषि पूजन हो । यसक्रममा हामीले आफ्नो गोत्र याद गर्दछौँ । गोत्रहरुको नाम त लिन्छौँ तर ती ऋषिहरुको वंशज, परम्परा, खानदान र उनीहरुको ज्ञानको वैभवलाई आज हामीले बिर्सिंदै गएका छौँ । त्यो गलत हो । किनकी हाम्रा पूर्खाहरुले दिएको ज्ञान नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।

यसको अर्को महत्वपूर्ण पाटो श्रावण स्नान पनि हो । यसदिन नदी, तलाउ अर्थात् पानी बगिरहेको ठाउँमा गएर स्नान गरिन्छ । स्नान गरिसकेर मन्त्र जप गरिन्छ । जहाँ गोबर, गहुँत, माटो, अपमार्ग, कुश, दुवो आदिको प्रयोग गरेर मन्त्रसहित स्नान गर्ने चलन छ । जसलाई श्रावण स्नान भनिन्छ ।

कुश, दुवोको प्रयोग गरेर स्नान गर्दा शारिरिक स्वस्थताको साथै मानसिक र आध्यात्मिक हिसाबमा पनि स्वस्थ भइन्छ भन्ने जनविश्वास रहि आएको छ ।

महत्वपूर्ण पाटो रक्षाबन्धन

अर्को सबैभन्दा महत्वपूर्ण विषय भनेको रक्षाबन्धन हो । रक्षाबन्धन धागोमा धेरै मन्त्रहरु पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल उर्जा बढ्छ भन्ने मान्यता छ ।

यिनै पाँचवटा पर्वहरुको समिश्रण रहेको पर्व नै ऋषितर्पणि अर्थात् जनैपूर्णिमा हो । विशेषगरी भारतीय र तराई मूलका बासिन्दाले राखि बाँधेर पनि मनाउने गर्छन् । त्यसैले यो पर्व रक्षाबन्धनसँग पनि सम्बन्धित छ ।

हिन्दु धर्मअनुसार यज्ञको जिम्मेवारी लिनेले जनै लगाउनुपर्छ । सबै व्यक्तिको लागि यो अनिवार्य हुँदैन । यज्ञ र ब्रम्ह कर्मसँग सम्बन्ध राख्नेलाई जनै अनिवार्य छ ।

वेदका एक लाख मन्त्र छन् भन्ने मान्यता छ । ती मन्त्रमध्ये ४ हजार मन्त्र ज्ञान मार्गका अर्थात् परमात्मा, जीवन, जगत र चिन्तनको गहिराइमा पुगेर सबै संसार परित्याग गरी इश्वर प्राप्त गर्ने बाटोतिर हिँड्ने प्रयोजनका मन्त्रहरु हुन् भन्ने विश्वास गरिन्छ ।

त्यस्तै, १६ हजार मन्त्रहरु उपासना मार्गका रहेका छन् । जसले ईश्वरको स्तुति गरेको छ । कर्ममा प्रवृत्त भएका मन्त्रहरु ८० हजार छन् भन्ने मान्यता छ । जसमा कृषि, पशुपालन, समाज, शारीरिक उन्नती, प्रकृतिको रक्षा, हाम्रा व्यावहारिक जीवनचर्यामा आवश्यक मन्त्रहरु रहेका छन् ।

त्यही १६ हजार र ८० हजार मन्त्र पढ्न म योग्य छु भन्ने अर्थमा ९६ अंगुलको जनै लागाइन्छ । ९६ अंगुलको जनै बनाउनुको मतलब ती ९६ हजार मन्त्रहरुको भावलाई जीवनमा आत्मसाथ गर्दै जानुपर्छ भन्ने हो । बाँकी रहेको ४ हजार मन्त्रको प्रयोग ज्ञान काण्डमा हुन्छ जसका लागि जनैको आवश्यकता पर्दैन । पछि, जनै त्यागेर सन्यास रुप धारण गरी वेदान्तको अध्ययनका क्रममा लिँदा पनि हुन्छ ।

कसरी बन्छ जनै ?

तीन सरा भएको जनैलाई तेब्राउँदा ९ वटा सरा भएको एउटा धागो हुन्छ यस किसिमको धागोबाट जनै बन्छ । ९ वटा सरामा अलग–अलग देवताहरु हुन्छन् । अलग–अलग देवताहरुको पूजासहित ती देवताको शक्तिलाई प्राप्त गर्नुपर्छ भन्ने भावनाका साथ जनै लगाइन्छ ।
जनैमा ३ वटा शिखाहरु हुन्छन् । ती शिखाहरुमा सप्तगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ ।

जनै धारण गर्नुको महत्व

त्यसको माथि ओमकार हुन्छ जुन ओमकारले ब्रह्मको संकेत गर्दछ मूल गाँठो मूलशिखा भनिन्छ । त्यसले ब्रह्मतत्व अर्थात् सर्वस्व शक्तिलाई केन्द्रित गर्दछ । यसरी जनैमा धेरै देवताको आह्वान गरिने भएको हुनाले त्यो एउटा धागो मात्रै होइन संस्कार गरेर धेरै मन्त्रद्वारा मन्त्रिएर त्यसलाई देवतामय बनाइएको हुन्छ । यो नै जनै धारण गर्नुको महत्व हो ।

नेपालमा वैदिक परम्पराको संस्कार भएर पनि पश्चिमा सभ्यता र संस्कृतिको प्रभावका कारण आफ्नो घर बिर्सेर पराइको घर दौडिने एउटा गलत अभ्यास हाम्रो समुदायमा बस्योे । त्यही क्रममा हाम्रा संस्कारहरु टुट्दै जाँदा संस्कृती नै विलुप्त हुने अवस्थामा पुगेको छ ।

जुन ऋषिमुनिहरुले ध्यानद्वारा अलौकिक शक्ति प्राप्त गर्थे । साथै, मन्त्रद्वारा मानिसलाई जे भन्यो त्यही पूर्ण गरिदिने आत्मविश्वास पनि थियो । साथै शक्ति र सामथ्र्य पनि थियो । तर, त्यो आजभोलि प्राय दुर्लभ भएको छ ।

जुन संस्कारयुक्त जनै बनाउनु पर्ने हो त्यो नभएर धागो नै बजारबाट किनेर लगाउने र विदेशबाट आयात गरेर कृत्रिम धागोलाई जनै ठानेर लगाउने परम्परा बसेसँगै शक्ति सामथ्र्य कम हुँदै गएको छ ।

जनैको इज्जत नगर्नेले नलगाउँदा हुन्छ

आजभोलि पश्चिमा संस्कृतिको प्रभावमा परेर आफ्नो संस्कृतिलाई भुल्दै आफ्नो उर्जा र सामथ्र्यलाई बिर्सेका कारण जनै लगाउने प्रचलन हराउँदै गएको छ । जसले जनैको इज्जत गर्न सक्दैन त्यस्ताले जनै नलगाउँदा पनि हुन्छ । तर, जसको जनै लगाउन पाउने अधिकार छ उसले छोड्न भने पाउँदैनन् ।

जनैले ऋषिमुनिहरुको परम्परा र संस्कारलाई सम्झाउँछ । शास्त्रीय मान्यताअनुसार ब्राह्मणत्वको लागि जनै चाहिन्छ र जनै नलगाउने व्यक्तिले त्यो ब्रह्म तत्वलाई प्राप्त गर्न सक्दैन । ब्राह्मणले व्रतबन्ध गरेपछि विवाह गर्नुभन्दा अगाडि ३ डोराको मात्रै र समावर्तन गर्नुभन्दा अगाडि ३ डोरा गरेर ६ डोराको जनै लागाउने प्रचलन छ ।

जनै र गायन्त्री मन्त्रको सम्बन्ध

जनै र गायत्री मन्त्रको एकआपसमा सम्बन्ध रहेको हुनाले जनै लगाएपछि विधिपूर्वक गायत्रीमन्त्रको जप गर्नुपर्ने शास्त्रीय मान्यता छ । गायत्रीमन्त्र नै जप्ने जिम्मेवारी नभएकाहरुले पनि गुरुहरुबाट लिइएको मन्त्रहरु जप्न सक्छन् ।

जनै र मन्त्रको अन्योन्याश्रित सम्बन्ध भएकाले मन्त्रको लागि जनै र जनैका लागि मन्त्र यी दुवै अनिवार्य छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button