jg
समाचार

आयात ‘ठप्प’ हुँदा पनि बजारमा कहाँबाट आइरहेको छ सुन ?

काठमाडौं । सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनायो । यसरी सुनको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदा पनि सुनचाँदी व्यवसायीहरूमा भने सन्तुष्टि छैन ।

नेपाली बजारमा अहिले सुनको माग बढ्ने बेला हो । नेपाल राष्ट्र बैंकले २० केजी सुन आयात गर्न वाणिज्य बैंकलाई स्वीकृति दिएको छ । तर, दैनिक यो सुनको मात्राले बजार धान्दैन ।

नेपालको सुन भन्सारदर बढी भएकाले बजारमा छिमेकी राष्ट्रबाट सुन अवैधरूपमा भित्रिने गरेको व्यवसायीहरू नै बताउँछन् । बैंकहरूले पाएको कोटामा पनि अहिले सुन आयात भएको छैन । तर, पनि बजारमा सुनको अभाव छैन ।

बजारमा भारतीय बजारबाट अवैधरूपमा सुन र सुनका तयारी गहना नेपाल आउँदा बजारमा सुनको अभाव नभएको व्यवसायीहरू बताउँछन् । नेपालको भन्सारदर बढी भएकाले पनि महँगो सुन व्यवसायीले किनेका छैनन् । अहिले नेपालको सुनमा भन्सारदर २० प्रतिशत छ ।

तर, भारतमा भने सुनमा भन्सारदर ६ प्रतिशतमात्र रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । नेपालको भन्सारदर बढी भएकाले पनि अहिले बैंकले सुन आयात नगरेको उनी बताउँछन् । महँगो सुन व्यवसायीले नै नकिनेपछि बैंकहरूले सुन आयात नगरेको उनको भनाइ छ । तर, पहिले नै ल्याएको सुन बाँकी रहेकाले पनि काम चलाइएको उनको भनाइ छ ।

“अहिले बैंकहरूले २० केजी सुन आयात गर्न पाउने व्यवस्था छ । तर, बैंकहरूले आयात गरिरहेको अवस्था छैन,” उनले बाह्रखरीसित भने, “पुरानो गहना बजारमा आउने गरेको र पहिलेकै १८० केजी बाँकी बजारमा रहेकाले त्यसैले काम चलाएको अवस्था छ ।”

सुनको भन्सारदर बढी भएकाले पनि बैंकले आयात गरेको सुन व्यवसायीले खरिद नगरेको रसाइली बताउँछन् । भन्सारदर सरकारले नघटाए आफूहरूले बैंकले आयात गर्ने सुन खरिद नगर्ने उनी बताउँछन् ।

बजारमा छिमेकी देशबाट अवैधरूपमा सुन भित्रिएकाले नेपालमा प्रशस्त सुन रहेको नेपाल रत्न तथा आभूषणसंघका अध्यक्ष सुनम मान ताम्राकार बताउँछन् । छिमेकी देशसँग राम्रो सम्बन्ध भएका सुनचाँदी व्यवसायी अहिले रमाएर कारोबार गरिरहेको पनि उनले बताए ।

यसमा सरकारी पक्षले ध्यान नदिँदा सुनचाँदी व्यवसायमा सहजरूपमा सोझो हिसाबले सुनको व्यवसाय गर्नेहरूलाई समस्या परेको ताम्राकार बताउँछन् ।

“अहिलेको अवस्थामा पनि सुनको डिमान्ड प्रशस्त छ । तर, वैधानिक तवरले बजारमा सुन आयात नभएको भए पनि अभाव भने छैन,” ताम्राकारले बाह्रखरीसित भने, “यसको कसैले अनुगमन पनि गरेको अवस्था छैन । यसको मार वास्तविक व्यवसायीलाई परेको छ । अवैधरूपमा सुन भित्र्याउने भने रमाएका छन् ।”

भारतीय बजारमा सुनको भन्सार कम हुनु र नेपालमा बढी हुँदा अवैधरूपमा सुन भित्रिने गरेको उनको भनाइ छ । भारत र नेपालमा सुनको मूल्यको मूल्यमा १७–१८ हजारको फरक पर्ने गरेको उनले बताए ।

सरकारले सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो । यो भन्सारदर बढी भएको भन्दै व्यवसायीले हेरफेर गर्न सरकारसँग माग गर्दै आएका छन् । त्यस्तै, बैंकले आयात गर्ने सुनको कोटा पनि बढाउनुपर्ने व्यवसायीको माग छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button