jg
समाचार

सामाजिक सञ्जालमा दाबी गरिए जस्तो के मेयर साम्पाङ १३ लाखको जुत्ता लगाउँछन् ?

काठमाडौं । अहिले फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएको जुत्ता भाइरल छ । यसको कारण हो, मूल्य । सामाजिक सञ्जालमा दाबी गरिए अनुसार उनले १३ लाख रुपैयाँ (आठ हजार ९९५ युरो)को जुत्ता लगाउँछन् । तर तथ्य जाँच गर्दा यो दाबी झुटो भएको पाइएको छ ।

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले मेयर साम्पाङको फोटो वास्तविक हो/होइन खोज्यौं । खोज्दै जाँदा उक्त फोटो साँचो भएको पाइयो । उनले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ मा शनिवार दिउँसो साढे ३ बजे उक्त फोटो पोस्ट गरेका छन् ।

त्यसपछि सामाजिक सञ्जालमा दाबी गरिए जस्तो उनले लगाएको जुत्ताको ब्रान्ड र मूल्य खोज्यौं । यसका लागि गुगलको रिभर्स इमेज सर्च प्रयोग गर्यौं । त्यसक्रममा साम्पाङले स्केचर्स (Skechers) ब्रान्डको जुत्ता लगाएको पाइयो । सामाजिक सञ्जालमा त्यस्तो दाबी गरिएको पोस्टबाट टेक्स्ट एक्सट्य्राक्ट गर्दा समेत उही नाम पाइयो ।

अमेजन युकेमा सो जुत्ताको मूल्य ६० देखि ६५.६३ पाउन्ड स्टर्लिङ देखिएको छ । तर ईकर्मस साइट अनुसार मूल्य फरक-फरक छ । यद्यपि १३ लाख रुपैयाँ पर्ने गरी कुनै पनि साइटमा सो जुत्ताको मूल्य राखिएको पाइएन । यसले उक्त पोस्ट मिथ्या हो भन्ने कुरालाई प्रमाण दिन्छ ।

यसपछि हामीले युरोपेली देशहरूको कुनै वस्तुको मूल्य राख्ने शैली बुझ्यौं । जर्मनी, फ्रान्स, इटाली, स्पेन लगायतका देशमा मूल्य लेख्दा दशमलवको साटो अल्पविराम (कमा) प्रयोग गर्ने चलन रहेको पायौं । उदाहरणका लागि ८९,९५ युरो । यसलाई ८९ यूरो र ९५ यूरो सेन्ट भनेर बुझ्ने गरिन्छ । यस प्रचलन नबुझ्दा सामाजिक सञ्जालमा मिथ्या खबर फैलिएको बुझ्न सकिन्छ ।

अन्तिममा यसबारे हर्क साम्पाङ स्वयंले फेसबुक पेजमा पोस्ट गरेको पायौं । जहाँ उनले ‘८९.९५ पाउन्डको जुत्तालाई ८,९९५ पाउन्डको जुत्ता भनेर हल्ला गर्नेहरूलाई के भन्ने होला’ भनेर लेखेका छन् ।

यद्यपि मेयर साम्पाङले भने जसो पाउन्ड नभएर युरोको चिन्ह सहितको मूल्य राखिएको थियो । उनको यस अभिव्यक्तिले पनि सामाजिक सञ्जालमा मिथ्या खबर फैलिएको बुझ्न सकिन्छ ।

यसरी गरिएको तथ्य जाँचले हर्क साम्पाङको जुत्तालाई लिएर सामाजिक सञ्जालमा फैलाइएको खबर मिथ्या हो भनेर पुष्टि गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button